Trending
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुभएको छ ।
नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिनुभएको हो ।
नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीहरूलाई लाग्न आग्रह गर्दै उहाँले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायको रुपमा रुपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उहाँले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपायहरू केन्द्रीकृत गर्न आग्रह गर्नुभयो ।
अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताउनुभयो । अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उहाँले जतिसक्यो चाँडो मन्त्रालयबाट टुङ्ग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
।