बेनी-जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै मुस्ताङ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ।

संघीय राजधानी काठमाडौंबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्ने क्रम बढेको हो। साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरू आकर्षित भएका हुन्।

जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी लालायित हुने गरेको पाइएको छ। हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ।

सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो। भारतीय अभिनेता अमिताभ बच्चन त्यस समयको कठिन परिस्थितिका वेला पनि मुस्ताङ आएर सुटिङ सकाएका थिए। तर परिस्थिति अहिले पूरै फेरिएको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढेको जानकारी दिए। जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उनले बताए। चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुगेको दाबी गरे।

पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन्। मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यकै कारण जिल्ल चलचित्र सुटिङको हब बनेको हो।

हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा यहाँ सुटिङ भएको हो। पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुण्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए। यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका सचिव नीरज थकालीले बताए। चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको उनले दाबी गरे।

त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आएका नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे। यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले बताए।

निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै गएको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन्। यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले बताए।

मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन्। कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ। घरपझोङ गाउँपालिकामा पर्यटकीय साँस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ।

यो पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ। वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ। लोमान्थाङमा मुस्ताङी राजाको ७०० वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेन अवलोकन गर्न सकिन्छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती छ।

मङ्लबार, २ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा