अभिनेता विपीन कार्की स्टारर फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सुरू भएको छ।
दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्मको आज पशुपतिनाथ मन्दिर परिसरबाट छायांकन सुरू गरिएको हो । फिल्मको शुभमुहूर्त भने गत शुक्रबार गरिएको थियो ।
खगेन्द्र लामिछानेको कथामा लेखिएको फिल्ममा विपिनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ।
आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म टुकी आर्टस् ब्यानरमा निर्माण हुन लागेको हो ।
२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल फिल्म ‘भष्मे डन’मा विपीन कार्की मुख्य भूमिकामा छन् । फिल्ममा भष्मे डनको जीवनमा आएका उतारचढावलाई प्रस्तुत गरिनेछ ।