Trending
घान्द्रुक समाज हङकङको आयोजनामा हङकङका स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह ‘लाहुरे दाइ’को हालै एक भव्य समारोहका बीच विमोचन सम्पन्न भएको छ ।
कवि तमुको तेस्रो पुस्तक लाहुरे दाइ प्रकाशन गर्ने चाँजोपाँजोको जिम्मेवारी साहित्यकार राजकुमार राईले लिएको कार्यक्रम आयोजक संस्थाले जानकारी दिएको छ । हङकङ साझा शृृङ्खलाका संयोजक रमण गुरुङले कार्यक्रममा सहभागीहरुलाई साहित्य लेख्न अनुरोध गर्दै विमोचित पुस्तकको आमा कविता वाचन गरेका थिए ।
यस्तै कार्यक्रममा तमु प्ये ल्हु संघका अध्यक्ष मनबहादुर गुरुङ, तमु ट्हो ह्युलका प्रवक्ता सन्तोष गुरुङ र घान्द्रुक समाजका पूर्वअध्यक्ष मिलन गुरुङले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना मन्तव्यका क्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङले सरल भाषामा रचना गरिएको यस पुस्तकले सबै पाठकलाई उत्प्रेरणा दिने बताउदै कविता संग्रहका कविता वाचन गरेकी थिइन ।
साब्लाबुङ साहित्यक पत्रिकाका सम्पादक एवम् साहित्यकार राजकुमार राईले पुस्तकको समीक्षा गर्दै कविताहरूमा राजनीतिक र प्रशासनिक विसङ्गतिका साथसाथै लाहुरे जीवनका कथाहरू उनिएको बताए । उनले कविमा राजनीतिक र सांस्कृतिक चेत भरपुर देखिएको कुरा गर्दै कविले कविताहरूबाट आफ्नो संस्कृति र परिवारप्रतिको प्रेमलाई सुन्दर तरिकाले उठाएको बताए । साथै उनले स्व कविका धर्मपत्नी मैना कुमारी गुरुङ, छोरी रेणु गुरुङ, ज्वाइँ तिलक गुरुङले पुस्तक प्रकाशन गरेर नेपाली वाङमयमा इटा थप्ने सुन्दर कर्म गरेकोमा बधाई दिए।
कार्यक्रममा कवि डोम राना, दाजु गुरुङ, अरुणा शर्मा, सुनिता गिरीलगायत संघसंस्थाका अतिथिहरूकाबीचमा घान्द्रुक समाजका कार्यवाहक अध्यक्ष आशा गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार विशु समले स्वागत मतव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव दीपक गुरुङले गरो थिए ।
लाहुरे दाइ पुस्तकलाई कवि तमुकी धर्मपत्नी मैनाकुमारी गुरुङले प्रकाशन गरेकी हुन । यस पुस्तक बिक्रीबाट उठेको रकम स्वर्गीय सुवेदार इमानबहादुर तमु अक्षयकोषमा जम्मा गरिने र शैक्षिक क्षेत्रमा प्रदान गरिने भनी प्रकाशिका मैनाकुमारी गुरुङले जानकारी पनि दिइन । यस कार्यक्रममा साब्लाबुङका नयाँ अजीवन सदस्यहरू डोम राना र विशु समलाई साब्लाबुङका सम्पादक राजकुमार राईबाट ट्रफी पनि प्रदान गरिएको थियो ।