आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ ।

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले हराउँदै उपाधि जितेको हो ।

 

सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाउनुभयो । निर्धारित समयमा २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गर्नुभयो । उहाँले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राख्नुभएको थियो ।

पाँचौं पटक विश्वकप खेल्नुभएका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रच्नुभएको छ । उहाँले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोड्नुभएको हो ।

फाइनल खेलमा दुई गोल गर्नुभएका मेस्सीले यस विश्वकपमा सात गोल गर्नुभयो । उहाँले चार गोलका लागि असिस्ट पनि दिनुभएको थियो । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी हुनुभएको दोस्रो पटक हो । यसअघि उहाँले सन् २०१४ को विश्वमपमा पनि यस अवार्ड जित्नुभएको थियो ।

अर्जेन्टिनाका लागि मेस्सीले विश्वकपमा कीर्तिमानी १३औं गोल पूरा गर्नुभएको छ । मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्नुभएको थियो ।

छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गर्नुभएका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुम्नुभएका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाड्नुभएको छ ।

गोल्डेन बुट एमबाप्पेको पोल्टामा

यसैगरी फिफा विश्वकपको गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एमबाप्पेले जित्नुभएको छ । सर्वाधिक गोल कर्तााले पाउने अवार्डका लागि एमबाप्पेले आठ गोल गर्नुभएको थियो ।

 

उहाँले अर्जेन्टिनामा मेस्सीलाई एक गोलले पछि पार्दै यस अवार्ड जित्नुभएको हो । फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गर्नुभएका २३ वर्षीया एमबाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा भएन ।

यससँगै एमबाप्पेको विश्वकपमा व्यक्तिगत गोलसङ्ख्या १२ गोल पुगेको छ । एमबाप्पेले सिल्भर बलसमेत प्राप्त गर्नुभयो । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचलाई प्रदान गरियो ।

गोल्डेन ग्लोभ मार्टिनेजलाई

विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जित्नुभएको छ । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

उहाँले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाउनुभएको थियो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गर्नुभएका मार्टिनेजले सबै खेल पूरा समय खेल्नुभएको थियो ।

 

उहाँले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल पस्कनुभयो । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक हुनुभएको थियो ।

यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जित्नुभएको छ । यस अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

उपाधिसँगै अर्जेन्टिनाले पायो ४२ मिलियन डलर

कतार विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।

विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६।१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सधैँका लागि लैजान पाउने व्यवस्था छ ।

यस्तै उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् ।

 

 

सोमवार, ४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !