Trending
विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।
नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले भने लामिछानेलाई भिसा नदिइनुको कारण खुलाउन अस्वीकार गरे । अमेरिकी कानूनअनुसार भिसासम्बन्धी अभिलेखहरु गोप्य हुने भन्दै उनले भिसाको कुनै केशबारे टिप्पणी नगर्ने बताए ।
‘उपयुक्त भिसाका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौंस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोष्टहरुले एकजुट भइ काम गरेका छन्’, उनले भने, ‘अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सह्राहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए ।’