म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छिन् । उनी जस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिन प्रतिदिन बढ्दो छ ।

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौँ करवीर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताए । दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । यो खेल मैदानमा बिहान र बेलुकी फुटबल खेल्ने महिला तथा पुरुषको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताए ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट बञ्चित बनेका बालबालिकादेखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेल मैदान र केवि एकेडेमीको खेल मैदान उपयुक्त स्थान बनेका उनको भनाइ छ । त्यसैगरी मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका महिला पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् । ‘सहरका महिला जिम जाने, बिहानी हिँडाइ गर्ने गर्दछन् भने हामी गाउँका महिला कामबाट फुर्सद मिलेको समय मैदानमा भेला भएर फुटबल खेलेर रमाइलो गर्ने गर्दछौँ’, मालिका–२ की ललिता विकले भनिन् ।

हिउँदका छ महिना जिल्लाका ग्रामीण भेग मेला र पर्वमय हुने गर्दछन् । विद्यालय, युवा क्लब, आमा समूह, स्थानीय निकायलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने यस्ता मेला तथा पर्वमा स्थानीय महिलाको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वको अवसरमा यहाँका महिला पनि विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्ने गरेका धवलागिरि युवा नगेन्द्र मल्लले बताए ।

‘दरबाङको केवी एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो’, उनले भने, ‘फुटबलप्रति महिलाको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ, यस्तै प्रतियोगिता पश्चिम म्याग्दीका अरू ठाउँमा पनि हुने गरेका छन्, ती ठाउँमा पनि फुटबलप्रेमी महिलाको संख्या बाक्लो देखिन्छ ।’

जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल तथा भलिबलप्रति म्याग्दीका ग्रामीण महिला निकै आकर्षित भएका बताए । ‘घरको कामबाट फुर्सद निकालेर महिला मैदानसम्म आई फुटबल खेल्ने गरेका छन्’, उनले भने, ‘यो राम्रो पक्ष हो, एकातिर शारिरिक तन्दुरुस्ती कायम गर्न सघाउ पुग्छ भने अर्कोतिर अनावश्यक कुरामा ध्यान पनि जाँदैन ।’

शनिबार, २१ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान