Trending
ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभा स्तरीय आर्चरी (दची) खेल प्रतियोगिता टिम तर्फको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।
जिल्ला आर्चरी संघको आयोजनामा संखुवासभामा भएको खेलमा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । प्रथम भएको कु– दिङले ५२५० कुल अंक ल्याएको थियो । तीन दिनसम्म सञ्चालित खेलमा दोस्रो के.वाई.सी.किम्माथांकाले ५२२० अंक ल्याउदै दोस्रो भएको थियो भने थांमुछी विकास समाजले ४४८० अंक ल्याएर तेस्रो स्थान प्राप्त गरेको नेपाल आर्चरी संघका जिल्ला अध्यक्ष पासाङ भोटेले जानकारी दिनुभयो ।
स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद भन्ने नाराकासाथ स्थानीय कला, संस्कृतिको संरक्षण खेलकुदको माध्यमबाट गर्ने उद्धेश्यल आयोजित आर्चरी खेल प्रतियोगितामा प्रथम हुनेले एक लाख एक सय उनान्सय रुपैया हात पारेको थियो ।
दोस्रो स्थान प्राप्त गर्ने के.वाई.सी.ले एकाउन्न हजार एक सय उनान्सय र तेस्रो हुने थांमुछीले तीस हजार एक सय उनान्सय रुपयाँ हात पारेको थियो ।
निकै उत्साहजनक रुपमा सम्पन्न भएको खेलमा के.वाई.सीका पेम्वा छिरीङ शेर्पा नवप्रतिभा, कु–दिङका ङारद भोटे दवेन, थांमुछीका पासाङ भोटे दगोर्पा र ङादर्पा भोटे खाँदबारी भोटे गुम्वा ज्येष्ठ खेलाडी घोषित भए । आर्चरी संघले प्रत्येक बर्ष प्रतियोगिता गराउदै आएको छ ।
बिजयी खेलाडीलाई खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया,आर्चरी संघका अध्यक्ष पासाङ भोटेले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।