Trending
यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभई हिमपात नै हुन सकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ ।
हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन । मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा सिँचाइको अभाव देखिनेछ । पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ । मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् ।
हिमाली जिल्ला मनाङमा यस पटक हिमपात भएको छैन । यस वर्ष बेमौसममा हिमपात भयो । तर हिमपात हुने समयमा भने हिमपात हुन सकेन । मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो । तर, हिमपात हुँदा जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीयवासी चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेँसी झर्ने गर्दछन् । उनीहरू काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन् । चिसो छल्न मनाङवासी बेँसी झरे पनि हिमपात हुने समयमा यस पटक हिमपात भएन ।
हिमपात नहुँदा किसान चिन्तित
हिमपातले हिउँदे बालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले किसानका लागि समयमै हिमपातको महत्त्व रहेको छ । “यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तब मात्र माटो भिज्छ”, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्नुहुन्छ, “जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ ।”हिमपात हुनुपर्ने समयमा हिउँ परेन यसवर्ष बाली राम्रो हुने अवस्था नभएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ ।
“स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन, यस पटक त हिमपात नै भएन”, उहाँले भन्नुभयो । यस पटक उत्पादन नहुने उहाँ बताउनुहुन्छ । “हिमाली क्षेत्रमा नै हिउँ परेन यहाँ अब पानीको हाहाकार हुने भयो खेतीबालीलाई, के भएको हो रु अहिलेसम्म यस्तो थाहा पाएका थिएनौँ”, गुरुङले भन्नुभयो ।
“मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले माघ महिनाको पनि आधा कटिसक्यो । तैपनि हिउँ परेको छैन”, नासों गाउँपालिका–५ थुतेन लामाले भन्नुभयो, “आकाशमा अलिअलि मात्र बादल लाग्ने गरेको छ । हिउँ पर्ने सङ्केत अझै कुनै छाँटकाँट देखिँदैन ।” तापक्रम भने निकै घटेर मौसम चिसिएको उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताउनुभयो । कहिलेकाहीँ पानीको छिटा परे पनि हिउँ पर्ने सङ्केत नदेखिएको लामा बताउनुहुन्छ । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँ चिसोका कारण यतिबेला खाली भए पनि हिमपात भएको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेँसी झरेको उहाँले जानकारी दिनुभयो ।
“समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने भयो”, लामाले भन्नुभयो । विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । यस पटक सोहीअनुसारको व्यवस्था गरिए पनि हालसम्म हिउँ नपरेको उहाँ बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गाना खनालले मनाङमा हालसम्म जिल्लामा हिमपात नभएको जानकारी दिनुभयो ।
माथिल्लो मनाङमा हल्का हिमपात भए पनि आवश्यक मात्रामा हिमपात नभएको उहाँ बताउनुहुन्छ । “मनाङमा हालसम्म हिउँ परेको छैन”, उहाँले भन्नुभयो । मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र एक हजार सात सय मिटर उचाइमा रहेको ताल गाउँमा समेत यसअघि यो समय हिउँ पर्ने गर्दथ्यो । मनाङमा जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । मङ्सिर, पुसमा हिउँ परे मात्रै जमिनमुनि चिस्यान पुग्छ र खेतीपाती हुन्छ । अहिले हिउँ परेन खेतीबाली राम्रो हुँदैन । तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्ने किसान बताउँछन् ।
चिसोले पूर्वाधार निर्माणमा समस्या
हिमपात नभए पनि यहाँ चिसो बढ्दै गएपछि विकास निर्माणका कार्य गर्न रोकिन्छ । चिसो बढेसँगै माथिल्लो मनाङको पूर्वाधार निर्माणको काम पूर्ण रुपमा ठप्प हुन्छ । गतवर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको निर्माणाधीन भौतिक संरचना निर्माणका कार्य अहिले रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतको विकास निर्माणका कार्य रोकिएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले बताउनुभयो । “सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण भइरहेको छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ”, उहाँले भन्नुभयो । चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न नसकिएको विष्टले बताउनुभयो । “हिमपात नै नभए पनि चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ”, विष्टले भन्नुभयो ।
मनाङको मेरुदण्डको रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माणकार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उहाँले बताउनुभयो । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । यस सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट रु तीन करोड १४ लाख बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणको लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकार्य सकिने अवस्थामा जाडो मौसमले गर्दा केही ढिलाइ हुने भएको जनाइएको छ ।रासस