Trending
स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रीपूर्ण खेलका लागि मंगलवार नेपाल आएको छ ।
रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. सर्मिला पराजुली ढकालले सोमवार बिदाइ गरेकी थिइन् ।
‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ ।
गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ ।
यसैगरी राष्ट्रिय टिमका अर्का पूर्व कप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।