Trending
पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ। शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो।
प्रतियोगिताका उपविजेताले ३० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ। प्रतियोगिताको प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स म्यानले दुई लाख ५० हजार पाउने क्यानले जनाएको छ। इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुनेछ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी-२० को आयोजना गरिएकाले लिग पूर्णरुपमा सफल हुने बताउनुभयो।
उहाँले दक्षिण एसियाका देशले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको बताउनुभयो। उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेकाले त्यसलाई सफल बन्न दिन नहुने बताउनुभयो। अध्यक्ष चन्दले दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो कुरा क्रिकेट सङ्घ चलाउन रहेको अनुभवसमेत सुनाउनुभयो।
नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइटबीच प्रतिस्पर्धा हुनेछ।
शनिबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।