Trending
काठमाडौंमा जारी त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै बनाउन सफल भयो ।
जितसँगै नेपालले दुई अंक जोडेको छ । डबल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले टोलीले फाइनल खेल्नेछन् ।
नेपालको बलिङमा कप्तान सन्दीप लामिछाने र करण केसीले तीन-तीन विकेट लिए भने अविनास बोहराले दुई तथा सोम्पाल कामीले एक विकेट लिए ।
पीएनजीको ब्याटिङमा नोरमान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे । यस्तै सेसे बाउले ३० रन, चाल्स अमिनि २२, लेगा सियाका २१ र चाड सोपर १३ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले २० रन बनाए । आसिफ शेखले रोहित पौडेलसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै सर्वाधिक ४३ रन बनाए । रोहितले ३४ रन बनाए । दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा कुशल मल्लले ११ रन बनाए लोकेश बम ५ रनमा पभेलियन फर्किएका थिए । करण केसी १४ रन बनाएर आउट हुदा आरिफ शेखले ३१ रन बनाए । अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
पीएनजीको बलिङमा चाल्र्स अमिनि, ऐली नाओ र चाड सोपेरले समान दुई विकेट लिए भने, रिले ह्याकुरे र नोरमान भानुवाले समान एक विकेट लिए ।
भोलि हुने दोस्रो खेलमा पीएनजी र मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।