Trending
काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यु गरेका सन्दीप लामिछानेले १३औं ओभरमा अर्का ओपनर लेगा सिएकालाई बोल्ड गर्दै नेपाललाई अर्को सफलता दिलाएका थिए । सिएकाले २५ रन जोडे ।
त्यसपछि कप्तान असद भाला र चार्ल्स अमिनीले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर यी दुईबीचको ३५ रनको साझेदारी नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४औं ओभरमा तोडे । भालाले १९ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् । अर्को ओभरमा हिरी हिरी खाता नखोल्दै आउट भएपछि पीएनजीले ९१ रनमा चौथो विकेट गुमायो ।
त्यसपछि पाँचौ विकेटका लागि अमिनी र चार्ड सोपरले ७४ रनको साझेदारी गरे । ४५ औं ओभरमा सोमपाल कामीले अमिनीलाई आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछि चार्ड सोपर ३५ र नोर्मन भानुअ २३ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट लिए ।