Trending
काठमाडौँ – राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ । विभागकी निर्देशक विनिता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले केही समयमै यो व्यवस्था सुरु हुने बताउनुभयो ।
यसो गर्दा कति बच्चा कहिले जन्मिए भन्ने यकिन विवरण आउने र जन्म मिति पनि वास्तविक हुने विभागको विश्वास छ । बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने व्यवस्था छ । ३५ दिन भन्दा ढिलो भए विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । जन्म, मृत्यु, बसाइँसराइँ लगायतका व्यक्तिगत घटना दर्ता गर्दा अनलाइन फारम भरेर वडा कार्यालयमा जानुपर्छ ।
आमा–बाबु दुबैको पहिचान नभएको, विवाह दर्ता नभएको कारणले बच्चाको जन्मदर्ता नरोकिने विभागकी निर्देशक भट्टराईले बताउनुभयो ।