Trending
निरन्तर वर्षाका कारण झापामा डेङ्गु सङ्क्रमणको जोखिम बढेको छ । झापामा हालसम्म एक सय २७ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा यस वर्षको सुरुवात भएसँगै पछिल्लो तीन महिनामा आठ सय चार जनालाई परीक्षण गर्दा ७१ जनालाई डेंगु पुष्टि भएको छ ।
झापामा वैशाखमा एक सय ६० जनालाई परीक्षण गर्दा १८ जनालाई डेंगु पोजेटिभ देखिएको थियो भने जेठमा तीनसय जनालाई परीक्षण गर्दा २१ जनालाई पोजेटिभ देखिएको थियो । यसै गरी असारमा तीन सय ३६ जनालाई परीक्षण गर्दा ३२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ ।मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।