आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँ: पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ । हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर रहेको छ । रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही क्यान्सरका कारण प्रतिदिन चार जना महिलाले ज्यानसमेत गुमाइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर, रोकथाम र निवारणका लागि यस नाराले सबै सरोकार भएका निकायलाई गम्भीर बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैले आ–आफ्नो स्थानबाट क्यान्सर, रोकथाम र निवारणका लागि अहिलेदेखि नै कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले समयमै स्क्रिनिङ, एचपिभी (ह्यमून प्यापिलोमा भाइरस) खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने बताउनुभयो । यस रोगको निवारणका लागि स्क्रिनिङ, खोप विस्तार अनिवार्य रहेको डा देवकोटाको धारणा छ ।

उहाँले भन्नुभयो, “पाठेघरको मुखको क्यान्सर निवारण लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरिएको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई उक्त खोप दिने कार्यक्रम छ ।”

यो क्यान्सर निवारणका लागि सन् २०३० सम्ममा सरकारले ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने, ३० वर्ष माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ ।

चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ । एचआइभी सङ्क्रमित महिलाले २५ वर्षको उमेरदेखि नियमित रूपमा प्रारम्भिक जाँच गराउनुपर्दछ ।

नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन् । यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाज भाव र आर्थिक रहेका छन् । जसले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको डा देवकोटाले बताउनुभयो ।

सोमवार, १ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान