८ हजार मिटरभन्दा अग्ला नेपालका थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सरोकारवाला निकायले औपचारिक पहल सुरू गरेका छन्। त्यसका लागि पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए) ले आवश्यक कागजात तयारी तथा प्रक्रिया अघि बढाएका छन्।

हाल ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त हिमालमध्ये आठ वटा नेपालमा छन्। यदि थप ६ वटा हिमालले पनि अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमै यस्ता हिमालको संख्या १४ पुग्नेछ। यसले नेपाललाई विश्व पर्वतारोहण पर्यटनको प्रमुख केन्द्रका रूपमा थप मजबुत बनाउने सरोकारवालाको विश्वास छ।

पर्यटन विभागका अनुसार आगामी अक्टोबरमा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्वतारोहण सञ्जाल मानिने इन्टरनेशनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेशन (यूआईएए) को महासभामा नेपालका थप हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।

सरकारले यसअघि नै ती हिमालको पहिचान गरिसके पनि हालसम्म अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सकेका छैनन्। पर्यटन विभागका अनुसार सरकारले औपचारिक रूपमा आठ वटा हिमाललाई मात्रै ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिएको छ भने बाँकी छ वटामाथि अध्ययन अघि बढाइएको छ। तर सरकारले तयार पारेको नेपाल पिक प्रोफाइलमा भने नेपालमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल समावेश गरिएको छ।

विभागका अधिकारीहरूका अनुसार थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने विस्तृत काम नेपाल पर्वतारोहण संघले गरिरहेको छ। विश्वभरका हिमालको उचाइ मापन, पर्वतारोहण मापदण्ड निर्धारण, उपकरण तथा सुरक्षा नियम तय गर्ने जिम्मेवारी पाएको यूआईएएले हाल नेपालका आठ वटा हिमाललाई मात्रै ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिएको छ।

नेपाल पर्वतारोहण संघका अनुसार अन्तर्राष्ट्रिय मान्यता नपाएका थप ६ वटा हिमालमा यालुङ खाङ, कञ्चनजंगा सेन्ट्रल, कञ्चनजंगा साउथ, ल्होत्से मिडल, ल्होत्से सार र यालुङ खाङ वेस्ट रहेका छन्।

संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार ती हिमालको पहिचान र प्रमाणिकरणका लागि आवश्यक डकुमेन्टेशनको काम भइरहेको छ। ‘नेपाल सरकारले ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल रहेको पुष्टि गरिसकेको छ र ती हिमाल आरोहणका लागि अनुमति (परमिट) पनि जारी गर्दै आएको छ,’ उनले भने, ‘तर अन्तर्राष्ट्रिय समुदायले भने नेपालका आठ वटा हिमाललाई मात्रै चिन्छ।‘

उनका अनुसार सबै १४ वटा हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ, जसमध्ये १४ वटा नेपालमै पर्नेछन्।

८ हजार मिटरभन्दा अग्ला नेपाली हिमाल

सगरमाथा ८,८४८.८६

कञ्चनजंगा (मुख्य) ८,५८६

ल्होत्से ८,५१६

यालुङ खाङ ८,५०५

कञ्चनजंगा सेन्ट्रल ८,४७६

कञ्चनजंगा साउथ ८,४७६

मकालु (१) ८,४६३

ल्होत्से मिडल ८,४१३

ल्होत्से सार ८,४००

चोयु ८,२०१

धौलागिरि (१) ८,१६७

मनास्लु ८,१६३

अन्नपूर्ण (१) ८,०९१

यालुङ खाङ वेस्ट ८,०७७

बिहिबार, १ माघ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !