विदेशी पर्यटकका लागि नेपालमै पहिलो पटक यन्त्र-आधारित, सरकार-स्वीकृत बीमा सेवा सुरु भएको छ। हिमालयन गार्डियन नेपालले नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृतिसहित उक्त प्रणाली सञ्चालनमा ल्याएको हो।

नेपाल साहसिक पर्यटनका लागि विश्वकै आकर्षक गन्तव्यका रूपमा चिनिँदै आएको छ। सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा अन्य जोखिमयुक्त गतिविधिहरू सुरक्षित मानिनुमा शेर्पा समुदायको अनुभव, नेपाली गाइडहरूको दक्षता र स्थानीय ज्ञानको ठूलो योगदान रहँदै आएको छ। तर पछिल्लो एक दशकमा हेलिकप्टर सेवाको तीव्र विस्तारसँगै उद्धार र बीमा दाबी प्रक्रियामा अनियमितता बढ्दै जाँदा नेपालको पर्यटन छवि कमजोर बन्दै गएको थियो।

हेलिकप्टर उद्धार खर्च कृत्रिम रूपमा बढाएर देखाउने, अस्पतालमा अनावश्यक परीक्षण गरी उपचार खर्च अस्वाभाविक रूपमा फुलाउने र केही ट्रेकिङ कम्पनीसमेत यस्ता गतिविधिमा संलग्न भएको तथ्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएपछि नेपाल आलोचनामा परेको थियो। यस्ता घटनालाई नेपालले समयमै नियन्त्रण गर्न नसक्नुको प्रमुख कारण बीमा दाबी प्रक्रिया नै विदेशी बीमा कम्पनीमार्फत सञ्चालन हुनु रहेको सरोकारवालाहरूको भनाइ छ। बीमा दाबी नेपालमा दर्ता नहुने, विदेशी बीमा कम्पनीले उद्धार र अस्पताललाई सिधै भुक्तानी गर्ने तथा नेपाल सरकार वा नियामक निकायसँग अनुगमन गर्ने अधिकार नहुनुले समस्या जटिल बनेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठगीसम्बन्धी समाचार आएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक नभएको र प्रभावकारी कारबाही नभएको आरोप लाग्दै आएको छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अविश्वसनीय र गैरजिम्मेवार गन्तव्यका रूपमा चित्रित गरेको बताइन्छ।

यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बीमा बजारमा परेको देखिन्छ। केही बीमा कम्पनीले नेपालका लागि बीमा बिक्री नै बन्द गरे भने कतिपयले अत्यधिक प्रिमियम तोके, जसका कारण विदेशी पर्यटकको कुल यात्रा खर्च बढ्यो र नेपाल महँगो तथा जोखिमपूर्ण गन्तव्यको रूपमा चिनिन थाल्यो।

यही पृष्ठभूमिमा हिमालयन गार्डियन नेपालले प्रविधिमा आधारित नयाँ बीमा प्रणाली सुरु गरेको हो। कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणको सहकार्य र नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित सञ्चालनमा आएको यस प्रणालीको अन्डरराइटर प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ, जुन सरकारद्वारा स्वीकृत नेपाली बीमा कम्पनी हो। यसले बीमा प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र जिम्मेवार बनाउने दाबी गरिएको छ।

नयाँ प्रणालीमा उद्धार र उपचारसम्बन्धी दाबी यथार्थ जिपीएस डेटा र यन्त्र–आधारित सूचनाका आधारमा मूल्यांकन गरिने बताइएको छ। यसले हेलिकप्टर उद्धार बीलमा हुने ठगी नियन्त्रण गर्ने, अनावश्यक मेडिकल परीक्षण घटाउने र झूटा बीमा दाबी रोक्ने अपेक्षा गरिएको छ।

हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका गतिविधि र उचाइका आधारमा तीन प्रकारका बीमा योजना ल्याएको छ। ३,५०० मिटर सम्मका भ्रमणका लागि टूर बीमा, ५,५०० मिटर सम्मका पदयात्राका लागि ट्रेकिङ बीमा र ६,००० मिटर सम्मका पर्वतारोहण गतिविधिका लागि क्लाइम्बिङ बीमा प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यी प्याकेजमा चिकित्सकीय तथा दुर्घटना बीमा, उचाइ–सम्बन्धी उपचार, हेलिकप्टर उद्धार, अस्पताल सेवा र रियल–टाइम ट्र्याकिङजस्ता सुविधा समेटिएका छन्।

कम्पनीले यो प्रणालीमार्फत नेपालमा लामो समयदेखि देखिँदै आएको उद्धार–बीमा अव्यवस्था अन्त्य हुने, विदेशी पर्यटकमा घट्दै गएको विश्वास पुनःस्थापित हुने र बीमा प्रणाली किफायती तथा विश्वसनीय बन्ने अपेक्षा गरेको छ। साथै यस पहलले नेपालको पर्यटन उद्योगलाई थप सुरक्षित, नैतिक र प्रविधिमैत्री दिशामा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

बुधबार, ३० पुस, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !