Trending
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
जसमा एक्सरे एमआरआईको फिल्म (एक्सरेको पत्ता) हटाएर डिजिटल रिपोर्ट उपलब्ध गराउने देखि हेमोडाइलाइसिस सेवा विस्तार गर्ने सम्मको तयारी छ।
१४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताए। अस्पतालहरूको सुधार तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोस्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ।
त्यस्तै, ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सिटिस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिनेछन्।
यस्तै, भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसिभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसिएच भवन उद्घाटन गरेर ओपिडी चैत्र दोस्रो साताभित्र आरम्भ गर्नेछ। कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेस्रो साताभित्र आरम्भ गर्नेछ।
यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसियु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ। परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ।
तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ। डडेल्धुरा अस्पतालमा एकीकृत ल्याब नमुना संकलन सेवा चैत्र तेस्रो साताभित्र सुरु हुनेछ।
नारायणी अस्पतालले एनआइसियुमा ई एम आर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोलोनस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ।
भेरी अस्पतालले भने १० आइसियु शैय्या थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ। संघ अन्तर्गतका यी अस्पतालमा चैत्रभित्र यी सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।