Trending
रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।
निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ ।
‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौँ’, मन्त्री पौडेलले भने, ‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौँ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाको भनाई छ ।
नेपालमा हाल करिब ९ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ ।