विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा. सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन् । आइतबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । डा. रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको बताए । यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे ।
‘दुई जना आँखा चिकित्सकले प्रतिष्ठानबाट नियमित सेवा दिने छन् । अबको एक वर्षपछि कर्णालीका दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान तयार हुनुपर्छ । यसले यहाँका सीमान्तकृत समुदायका व्यक्ति र ग्रामीण गाउँबस्तीका नागरिकको निकै लाभान्वित हुनेछन्’, उनले भने, ‘कर्णालीका दूरदराजसम्म मोतियाविन्दुको सेवा विस्तार गर्न चाहिने स्रोत साधनका लागि सहयोग गर्न म सधैँ तयार छु, यसमा सबैको उत्तिकै सहयोगको खाँचो छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले तिलगङ्गा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिजले केही सामग्री सहयोग गरेपछि प्रतिष्ठानमा नेत्र रोग विभाग स्थापना गर्न सकिएको बताए । ‘अब जुम्लामै मोतियाविन्दुको नियमित शल्यक्रिया र निरन्तर सेवा प्रदान हुनेछ । यसबाट दुर्गम गाउँका नागरिकले लाखौं खर्चेर आँखाको उपचार गर्नुपर्ने दिनको अन्त्य हुनेछ’, उनको भनाइ थियो ।
प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखाको बहिरङ्गबाट मात्रै उपचार हुँदा सामान्य समस्या आउँदा ‘रेफर’ गरेर बाहिर पठाउनुपर्ने बाध्यता सधैँका लागि हटेको बताए । मोतियाविन्दुको जटिल शल्यक्रिया समेत अब जुम्लामै हुने प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीय तहमा सञ्चालन भएको आँखा शिविरबाट छनौट भएका ४० जनाको मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको महतले जानकारी दिए । रासस