Trending
धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यहाँ गत वैशाखयता प्रकोपको रुपमा डेंगु फैलिएको थियो । डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो ।
तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको अवस्थालाई मध्यनजर गर्दै ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणाका लागि केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरेको बताइन् ।