बिनुका शेर्पा
दुई दिन देखिको लगातार झरीरहेको झरीले मन निथ्रुक्कै भिजेको छ । असारे झरी, साउने झरी, भदौरे झरी, सुन्दै देख्दै आएको हाम्रो पुस्ताले यो कात्तिके झरीको पनि साक्षी बस्नु पर्ने भयो ।

बर्ष भरि दुख गरेर भित्राउन लागेको वेला भिजेको धानको मुठा सँगै भिजेका किसानहरूका मन, यात्रामा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूको रोक्किएको कदम, बाढि र पहिरोले भत्काएका सडक तथा पुलहरू अनि पहिरो सँगै पुरिएका ति सपनाहरू सबैको साक्षी बस्नु परेको छ ।

साविक भन्दा ढिलो गरि प्रवेश गरेको तथा ढिलो बाहिरिएको मनसुन सक्कियो भन्न नपाउँदै अनाहकमा आइपुगेको यो झरिले सवैलाई चकित पारेको छ ।यो काम न काजको विनाशे बेमौसमे झरि के कति कारणले भयो भनेर मौसमविद हरूले बताउँदै होलान् । तर अहँ मलाई ति कुनै तथ्यको पछाडी लाग्न मन छैन । मेरो अटेरी मन र दिमागले भनिरहेको छ कि यो जलवायु परिवर्तनको असर हो ।

सामान्यतया पृथ्वी तथा यसको वायुमण्डलको तापक्रममा वृद्धि भएको अवस्थाले लामो समयको अन्तरालमा वातावरणमा पारेको असर र परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । अर्थात पृथ्वीमा मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासको अत्याधिक उत्सर्जन भई पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन भएको हो । जलवायु परिवर्तनका थोरै कारण छन् भने असर हरू वृहत छन् ।

जलवायु परिवर्तनका असर भन्दा मलाई आफूले भोगेको दुई वटा घटनाहरू याद आयो, पहिलो, वि.सं. २०७० साल तिर जिव विज्ञान पढाउनु हुने गुरूले सुनाउनु हुन्थ्यो, ” म २०४५ सालमा काठमाण्डौँ आएको हुँ त्यस वेला लामखुट्टे (मच्छर) को विउ पनि भेटिँदैन थियो । तर अहिले गर्मिमा झुल नलगाई सुत्न सकिँदैन ,” मैले सोचे अवको केहि वर्ष पछाडी काठमाण्डौँ मन्दिरै मन्दिरको शहर देखि मच्छरै मच्छरको शहरमा रूपान्तरण हुने पो हो कि ?

दोश्रो सम्झनाः–आज भन्दा ठ्याक्कै दुई वर्ष अगाडी म यहि समय सगरमाथाको वेसक्याम्प सम्मको यात्रामा निस्किएको थिएँ । बाटोमा नाङ्गा पहाडहरू देखिन्थे, म संगै यात्रामा रहेको पथपर्दशक दाई भन्दै हुनुन्थ्यो , ” दुई, तिन वर्ष अगाडी सम्म यी डाँडाहरूमा सेताम्मे हिउँ देखिन्थे आज विस्तारै नाङ्गा डाँडाहरूमा परिवर्तन भईरहेका छन् ,” तत्काल मेरो दिमाखमा कतै यो अमादव्लम र सगरमाथा पनि कुनै दिन नाङ्गो कालो पहाडको रूपमा त देखिने हैन ? यो दोश्रो परिवेशले म साह्रै झस्किएँ । यहि सगरमाथा हेर्न विश्वभरबाट पर्यटकहरू आउँछन् यदि मेरो कल्पना वास्तविकतामा परिणत भईदियो भने त ? हे भगवान त्यस्तो नहोस् । साँच्चै नेपाल जलवायु परिवर्तनको जोखिममा रहेको देश मध्ये एक हो भनेर कतै पढेको थिएँ , कतै आज हो सावित भईरहेको त छैन ?

वास्तवमा जलवायु परिवर्तनको थोरै मात्रै कारकको रूपमा रहेको नेपाल यसको असरको भने ठूलो जिम्मेवारी वहन गरिरहेको छ यो वास्तवमै पीडादायक छ । ठूलाठूला औद्योगिक राष्ट्रहरूको दिन प्रतिदिन बढ्दो कार्वन उत्सर्जन तथा हरितगृह उत्सर्जनको अगाडी नेपाल जस्तो अविकसित राष्ट्र साँच्चै निरिह बन्न पुगेको छ । हाम्रो जस्तो देशले न त कार्वन उत्सर्जनमा ति विकसित राष्ट्रहरू सँग प्रतिस्पर्धा गरेर थप विकसित बन्न सक्छ न त जलवायु परिवर्तनको असरबाट भाग्न नै । मेरो आशय फेरी हामीले टन्नै हरित गृह ग्यास उत्सर्जन गरेर पृथ्वीको तापक्रम बढाउनुमा ठूलो योगदान पुर्याउनुपर्छ भन्ने होइन । मात्रै आफुले नगरेको पापको सझाय भोग्नु परेकोमा चिन्ता व्यक्त गरेको हुँ ।

अव भने नेपालले जलवायु परिवर्तनको असरलाई लिएर गम्भिर रूपमा अगाडी बढ्नु पर्ने देखिन्छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय नीति २०६७ लाई प्रादेशिकरण तथा स्थानीयकरण गर्नु आजको पहिलो आवश्यकता हो । जलवायु परिवर्तनका कारक तत्वहरूलाई रोक्न विश्व समुदायको ध्यान आकर्षण गर्नुका साथै सो सम्बन्धी थप आन्तरिक नीति तथा कार्यक्रमहरू तर्जुमा गरी लागु गर्न आवश्यक छ । जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरूबाट वच्न वचाउन, मानव विकास र समृद्धि कायम गर्दै दिगो विकासको अवधारणालाई अवलम्वन गरि स्थानीय तहहरू देखि नै वातावरण मैत्री विकास निर्माण गर्ने, वातावरण संरक्षणमा लाग्नु पर्ने तथा जलवायु परिवर्तन अनुकुल आर्थिक –सामाजिक पूर्वाधारको स्थापना गर्नु पर्ने र जलवायु परिवर्तनवाट सिर्जित अवसरहरूको समेत सदुपयोग गर्दै जानुपर्ने देखिएको छ । यसका लागि अध्ययन अनुसन्धान तथा खोजहरू गरि सोहि आधारमा नीतिगत तथा कार्यक्रमगत व्यवस्था गर्नुका साथै व्यापक जनचेतनाको अभिवृद्धि आवश्यक पर्दछ ।

अन्तमा, परिवर्तन अवश्यम्भावी छ । यसबाट भाग्न सकिँदैन । यस सँग जुध्नको लागि पूर्वतयारी र प्रतिकार्य गर्नुको विकल्प छैन । प्रकृतिले जता डोहोर्याउँछ त्यतै जानु सिवाय हाम्रो धर्म हो । यसर्थ प्रकृतिमैत्री क्रियाकलाप गरौँ र पृथ्वीको आयु र मानव अस्थित्वलाई जोगाऔँ ।

(लेखिकाः सभापोखरी गाउँपालिकाका प्रशासकीय अधिकृत हुन् ।)

 

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे