Trending
शंकर खनाल
बिभिन्न ऋतु अनुसार प्रकृतिबाट मानिसले त्यहि अनुसारको फलको आश गरेको हुन्छ । भनौ ऋतु अनुसारको मौसम भोग्दै आएका हामी मानवहरु अहिले प्रकृतिको बेमौसमी मारमा छौ । भनौ प्रकृतिले उल्टो–उल्टो बाटो लग्दै गएको भनव मान्छेमा गराएको छ । जसका कारण प्राकृतिक प्रकोप, बिपत्तीको शिकार मान्छेले भोगि रहेको देख्ने मात्र हैन, रोग ब्याधिले गर्दा मान्छेको आयु नै आधा घटेको छ ।
अर्थात पहिले रोगको शिकार कमै हुने गरेको मानव समुदाय अहिले जति बचिन्छ औषधिको भरमा बाच्नु पर्दा अधिकांश मानव जीवनलाई आरामले बाच्नै गाह्रो पारेको छ । बेमौसमी रुघाँखोकी देखि अन्य रोग बढ्नु पनि जलवायुकै असर हो भनेर बिज्ञहरुले औल्याएकाछन् । मौसममा पानी नपरी बेमौसममा पानी पर्नु । धुँलो धुँवा र वायुमण्डलमा थुप्रीएको धुलोको कुईरीमण्डले स्वास्थ्यमा असर गरेर मान्छेलाई रोगी बनाई रहेको हुन्छ । आकाश राम्रोसंग नखुल्नु, हिमाल टल्लक टल्केको नदेखिनु, हिमाल चट्टानमा परिणत हुँदै जानु यसका लक्षण हुन् ।
यो सिजनमा हिउँ पर्नु पर्ने हो । मानिसले हिउँ हेरेर मनलाई शितल बनाउनु पर्ने समयमा चैत महिना आएछि मौसममा अदलीबदली भएको छ । अर्थात माघमा पर्नु पर्ने माघे झरी फाट्टफूट्ट रुपमा चैत्रमा पर्न थालेको छ । नेपालमा यो सिजनमा माउन्टेन फ्लाइटका यात्रुहरूलाई सगरमाथा अवलोकन गर्न पाउनु पर्ने थियो । हिउँँले छोपिएका सेता हिमाल हिउँ नपरेर अहिले कालो डाँडा भएको देखन सक्छौ । हिमालयबाट बग्ने नदीहरू सुक्न थालेकाछन् । मरुभूमीकरणले अकल्पनीय विपत्ति आउने खतरा बढ्दै गएको छ । हिमनदीहरू सुक्दै जाँदा नेपाल मात्रै नभएर छिमेकी मुलुकका बासिन्दासमेत प्रभावित हुने देखिन्छ ।
जलवायु परिवर्तन एउटा विश्वव्यापी समस्याको रुपमा देखा परेको छ । औद्योगिकीकरण अनियन्त्रित रूपमा बढ्दै गएमा र प्राकृतिक स्रोतहरूमाथि दोहन बढ्दै गएमा यसले मानव जीवनमा प्रभावित पार्दे जाने छ । प्रकृतिले मानवलाई आफ्नै भाषामा चेतावनी दिई रहेको भान गराउछ । जलवायु परिवर्तन र यसको परिणाम साँझा रुपमा भोग्नु पर्ने देखिन्छ । वातावरण परिवर्तनले हाम्रो वरिपरिको वातावरणलाई मात्रै चुनौती दिँदैन । हाम्रो अस्तित्वलाई नै धरापमा पारेको छ ।
कुनै पनि सरकारले योजनाहरूमा वातावरणलाई केन्द्रित गरेको पाईदैन । विगतमा हामीले हेर्दा, सुन्दा वा पढ्दा जलवायु परिवर्तनले निम्त्याउने लक्षणहरूको अनुमान औँल्याउँथ्यौं र अनुमान लगाउन सक्थ्यौं भने आजको दिनमा आउँदा हामीले सर्वत्र त्यस्ता लक्षण देख्न पाउछौँ । त्यसमाथि पनि नेपालको विविध जलवायुको कारण विश्वव्यापी रूपमा जलवायु परिवर्तनको जोखिममा नेपाल चौथो स्थानमा पर्दछ ।
नेपालमा असमान भूभाग र क्षेत्रीय मौसम प्रणालीहरूद्वारा सञ्चालित यहाँ अत्यन्त विविध र जटिल हावापानी पाइन्छ, विभिन्न सामाजिक–आर्थिक, भौतिक, भौगोलिक र राजनीतिक अवस्थाका कारण, नेपाल जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिममा परेको देशको सूचीमा परेको छ । सानो जग्गा, सीमित सिँचाइ उपलब्धता, कम आय स्तर, सीमित संस्थागत क्षमता र जलवायु–संवेदनशील प्राकृतिक स्रोतहरूमा कृषिको बढी निर्भरता भएका सीमान्त किसानहरूको ठूलो अनुपातले जोखिमको स्तर बढाउँछ ।
कुनै बेला हरियो वन नेपालको धन भनेर चिनिने देशमा अहिले इच्छित बाली उत्पादन र पशुधन उत्पादनमा समस्या देखिरहेको छ । अतिवृष्टि र अनावृष्टि जस्ता विपत्तिले ठाउँ–ठाउँमा पहिरो गइरहेको छ र उर्वर हरिया बालीनालीलाई सुख्खा गहिरा दरारले प्रतिस्थापन गरिरहेका छन् ।
कृषि क्षेत्रमा बाढीको उच्च जोखिम, माटोको क्षरणमा वृद्धि र कीट र रोगहरूको दायरा÷प्रचलनमा हुने परिवर्तनहरूसहित अन्य प्राकृतिक प्रकोपको जोखिम अत्यधिक बढेर गएको छ । हरिया पहाड अनियन्त्रित वन विनाश, औद्योगिकीकरण, आधुनिकीकरण, सहरीकरण र मानव बस्तीले गर्दा हराउँदै गएका छन् ।
नेपालमा जलवायु परिवर्तनले विशेष गरी जलवायु संवेदनशील संक्रामक रोगहरूबाट जनावरहरूको मृत्युदर र विकृति बढाइरहेको छ । बढ्दो तापक्रम र सापेक्षिक आर्द्रताले पनि दाना सामग्रीमा अफलाटोक्सिनको संक्रमण उच्च रहने हुनाले जनावरहरूमा विषाक्तताको जोखिम बढाउँछ । संक्षेपमा भन्नुपर्दा जलवायु परिवर्तनका कारण नेपाली कृषकहरूले पशुपन्छी उत्पादनबाट घाटा बेहोर्नुपरेको विडम्बना देखिन्छ ।
जलवायु परिवर्तनका कारण नेपालले ग्लेसियर लेक आउटबर्स्ट बाढी को बढ्दो खतराको सामना गरिरहेको छ । नेपालमा एक हजारभन्दा बढी हिमनदी रहेको विश्वास छ । फोक्सुण्डो ताल, च्छो रोल्पा, चाम्लाङ उत्तरी सो, चाम्लाङ दक्षिण लुम्डिङ सो जस्ता हिमनदी तालहरू पघ्लीएर बाढी–पहिरोको जोखिम निम्त्याउन सक्छन । नदी–नालालाई जोगाउनु हाम्रा लागि अत्यावश्यक भइसकेको छ किनकी टल्किने हिमालमा हिउँ नपरेर पुरानो चमक रहेन ।
विश्वभर दूषित र गुणस्तरहीन हावाको सूचीमा काठमाडौँ पनि परेको छ । नेपालमा भित्री र बाहिरी वायु प्रदूषकबाट हुने मृत्यु दर बढेको छ । जुन नेपालमा हृदय रोगका कारण मृत्यु दरपछि दोस्रो उच्च हो । दुषित पानीको सेवनका कारण पैदा हुने पानीजन्य रोगहरू जस्तै कोलेरा, झाडा–पखाला, टाइफाइड, आदिको संक्रमण तीव्र रूपमा फैलिन सक्छ ।
मानिसमा मात्रै सीमित नभएर यसको परिणाम वन्यजन्तु र वनस्पतिमा पनि देखिन्छ । जलवायु परिवर्तनले स्व–सन्तुलित परिस्थितिकीय–पद्दतिमा असन्तुलन ल्याउने हुँदा त्यस पद्धतिमा निर्भर विशेष जात–जातिका वन्यजन्तु र वनस्पतिको अभिवृद्धिमा अवरोध आउनुका साथसाथै लोप हुँदै ति जाति–प्रजातिको सर्वनाश हुन सक्ने चेतावनी नजिकिँदै गएको छ ।
हिमाल अहिले काला चट्टान हुन पुगे । पन्ना जस्ता पहाड अहिले नाङ्गो झार हुन पुगे । वास्तविकतामा मानव जाति यही पारिस्थिति पद्धति र प्रणालीको अभिन्न भाग हौँ जसको वरिपरिको पर्यावरणसँग अन्योन्यास्रित सम्बन्ध छ । पृथ्वीले अबको एक दशक भित्रमा नै गम्भीर विश्वव्यापी तापक्रमको सीमा पार गर्ने बिज्ञहरुको आंकलन छ । करोडौंको कोष, विशाल परिवर्तन र विश्वव्यापी सहकार्य हुने हो भने यसलाई सुरक्षित तहसम्म ल्याउन सकिन्छ ।
नेपालले जलवायु परिवर्तनलाई मध्यनजर गर्दै वातावरणसम्बन्धी राष्ट्रिय नीति तथा प्राथमिकता निर्धारण गरेर एउटा छुट्टै मन्त्रालय, मन्त्रि, नीति, नियम, विनियम, कोषको व्यवस्था गर्नु अपरिहार्य देखिन्छ । यसरी पर्यावरण र वातावरण विभाग छुटट्याउने र त्यहाँ तालिम, बिजारोपण, जन–चेतना फैल्याउने जस्ता कार्यक्रमहरू नियमित राख्नु पर्ने देखिन्छ ।
नेपालमा मुख्य रूपमा जलवायु परिवर्तनका परिणामलाई प्रतिक्रियात्मक ढंगले भन्दा पनि सक्रिय र जोखिम न्यूनीकरणका दृष्टिले वर्तमानका महत्वपूर्ण कार्यक्रम हरूको परिवर्तन र अनुगमनको आवश्यकता छ । जलवायु परिवर्तनशीलतालाई मुख्यप्रवाह गरेर राष्ट्रिय नीति र योजना प्रक्रियामा ल्याउने काम नेपालले अझै हासिल गर्न बाँकी नै छ ।
हिमालय क्षेत्रका अद्वितीय सांस्कृतिक र वातावरणीय विविधतालाई सम्बोधन गर्ने विकास प्रतिक्रियाहरूलाई प्रतिस्थापन गर्दै आएका आधुनिक परिवर्तनहरूले यस क्षेत्रको दीर्घकालीन दिगोपनको न्यूनीकरण गर्दै थप जोखिमयुक्त तुल्याउँछ । त्यसकारण हिमाली क्षेत्रका लागि लामो–अवधि र दिगो विकासका नीतिहरू परिमार्जन गर्न नेपाल सरकारले त्यहाँका स्थानीय वासिन्दाहरूसँग सहकार्य गर्दै मौलिक र साँंस्कृतिक विविधतालाई जोगाउनु पर्छ ।
जलवायु परिवर्तनको बारेमा सचेतना र कार्यशालाहरू, बैठकहरू, र गतिविधिहरू जहाँ अनुकूलन विकल्पहरूको पहिचान सञ्चालन गरिन्छ त्यहाँ समुदायहरूको प्रत्यक्ष संलग्नता हुनु आवश्यक छ । स्थानीय समस्या, स्थालाकृति, तथ्यांक, स्थानिक रोग, स्थानिक वनस्पति र वन्यजन्तु आदि सबैको सम्बोधन गरेर एकाई तहबाट वातावरण संरक्षण गरेमा मात्रै समग्र रूपमा विकास अनुकुल छ ।
नेपालको हिमाली भेगमा एउटा राष्ट्रिय आपतकालीन हेल्पलाइन पनि स्थापना गर्न पहल गर्नु पर्ने देखिन्छ । हिमनदी पग्लेर आउन सक्ने पहिरोको जोखिमबाट बच्नका लागि स्थानीय समुदायमा यस्ता बुथहरू स्थापना गर्नु राष्ट्रिय नीतिबाट निर्देशित हुनु पर्छ । नेपालले आफ्नो वातारण जोगाउने प्रयासले विश्व समाजको सामु एउटा ज्वलन्त उदाहरणको रूपमा प्रतिपादित गर्न सक्नु पर्छ । वातावरण संरक्षणमा सहकार्य र सहयोग गर्नका निमित्त विश्व समाजले प्रोत्साहन गर्न सक्नु पर्छ ।