क्यान्सर रोगविरुद्ध सक्रिय संसारभरका विभिन्न संघसंस्था एवं समुदायको नेतृत्व गर्ने युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्राेल (UICC) द्वारा प्रतिपादित विश्व क्यान्सर दिवस हरेक वर्ष ४ फेब्रुअरीमा नेपाललगायत संसारभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

विश्वव्यापी महामारीकै रूपमा फैलिँदै गएकाे क्यान्सरविरुद्ध लड्न विश्व समुदायलाई एकजुट पारी स्वास्थ्य सचेतना फैलाउने उद्देश्यका साथ यो वर्ष २०२३ को नारा close the care gap (हेरचाहमा हुने असमानताको अन्त्य गरौँ) भन्ने छ । यसैअनुसार कार्यक्रमहरू सञ्चालित छन् ।

विश्व स्वास्थ्य संगठन (WHO)का अनुसार विश्वभर मृत्युको दोस्रो प्रमुख कारण नै क्यान्सर हाे । ६ जना मानिसको मृत्यु हुँदा ६ मध्ये १ जना मानिसको मृत्युको कारण क्यान्सर हुने गरेको छ । सन् २०१८ को रिपोर्टअनुसार, विश्वभर ९६ लाख मानिसहरू क्यान्सरका कारण मरेका थिए ।

नेपालको सन्दर्भमा भन्ने हो भने वार्षिक २७ हजारभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारणबाट हुने गरेको छ ।विश्वभर दिन प्रतिदिन क्यान्सर रोग फैलने प्रक्रिया बढिरहेकाे छ । यो रोगले विकराल अवस्था ल्याउनुअगाडि नै सबै क्षेत्रबाट आवश्यक पहलकदमीको आवश्यकता अपरिहार्य भइसकेको छ ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थ, मदिरा, शारीरिक निष्क्रियता, अन्य क्यान्सर रोग लाग्ने जोखिमका कारक तत्त्वहरूलाई हटाउन सकेमा मात्रै पनि ४० प्रतिशत क्यान्सर रोग लान्नबाट बच्न सकिन्छ भने अर्कोतर्फ समयमै क्यान्सर रोगको पहिचान तथा रोगको प्रभावकारी उपचार गर्न सके ७५ प्रतिशत क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ ।

विश्व क्यान्सर दिवसको यो वर्षको नाराले स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी असमानता र मान्छेकाे बाँच्न पाउने नैसर्गिक अधिकारबारे उजागर गरेको छ । नेपालजस्ता न्यून तथा मध्य आय भएका देशहरू आफ्नाे आर्थिक अवस्थाका कारण क्यान्सर रोगको समग्र व्यवस्थापनमा चुकेका छन् । जसका कारण क्यान्सर रोगीहरूले समयमै रोग पत्ता लगाउन तथा उपचार गर्न नपाउन समस्यासँग जुधिरहेका छन् । धेरैले अल्पायुमै ज्यान गुमाउनुपरिरहेको तीतो यथार्थ हाे ।

संसारभर आज जे–जति मानिसहरू क्यान्सर रोगबाट मृत्युवरण गर्छन्, तीमध्ये ७० प्रतिशत मानिसहरूको मृत्यु नेपालजस्ता न्यून तथा मध्यम आय भएका राष्ट्रहरूबाट हुने गरेका छन् । वास्तविकता यही हो, मानिसकाे जीवन र मरणबीचकाे भिन्नता ऊ बस्ने देश, क्षेत्र र व्यक्तिकाे आर्थिक अवस्थाले फरक भएको छ ।

तुलनात्मक रूपमा विकसित देशहरू र मध्यम तथा कम आय भएका देशहरूबीच क्यान्सरबाट अल्पायुमा हुने मृत्युदरको खाडल धेरै ठूलो छ । यसको मुख्य कारण स्वास्थ्य उपचारमा हुने पहुँचको कमी, आधुनिक स्वास्थ्य प्रविधिको अभाव, आय स्राेतकाे कमी, शिक्षा तथा प्रचार प्रसारमा कमी, जीवनशैली तथा यस्तै अन्य अभाव र असमर्थताका कारण हुन् ।

क्यान्सर रोग र यसको कारक तत्त्वबारेमा जनमानसमा सुसूचित गराउनुपर्छ । क्यान्सरको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा विशेषज्ञहरूलाई आधुनिक प्रविधि उपलब्ध गराउनुपर्छ । उनीहरूमा दक्षता वृद्धि गराउनुपर्छ । समुदायलाई प्रदान गरिने प्राथमिक स्वास्थ्य सुविधा नबढाई हुँदैन । जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने सामाजिक तथा आर्थिक पक्षका लागि आवश्यक रणनीति तथा कार्यक्रम चाहिन्छ ।

राष्ट्रियस्तरमा क्यान्सरबारे अनुसन्धान तथा खोजीनितीका लागि आवश्यक जनशक्ति र बजेटको व्यवस्थापन हुनुपर्छ । यति भएर मात्रै पनि पुग्दैन, राजनीतिक दलमा यस क्षेत्रमा काम गर्ने इच्छाशक्ति चाहिन्छ । अनि समाजका हरेक क्षेत्र, व्यक्ति, क्यान्सरको क्षेत्रमा क्रियाशील संघसंस्थाहरू, अन्तर्राष्ट्रिय संघसंस्था तथा एजेन्सीहरू एवं देशहरूको विश्वव्यापी एकीकृत समन्वय र सहयोगबाट मात्रै यो असमानताको खाडललाई कम गर्न सकिन्छ ।

यही असमानता हटाउनु नै आजको आवश्यकता हो । संसारको जुनसुकै कुनामा बसे पनि, शिक्षा र आर्थिक अवस्थाको स्तर जेजस्तो भए पनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्यु हुनबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनिश्चितता हुनुपर्छ । क्यान्सर रोगको उपचारमा भइरहेको असमानतालाई हटाई लाखौँको जीवन बचाउनु नै विश्व क्यान्सर दिवसको यो नारा close the care gap को मर्म हो ।

शनिबार, २१ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे