Trending
काठमाडौँ – पछिल्लो समय चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन् । चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ। नयाँ कोरोना लहरका कारण चीनका १० सहरमा लकडाउनको घोषणा गरिएको छ । जिलिन प्रान्त नयाँ लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ।
सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले फेरि एकपटक चीनलाई आक्रान्त बनाएको छ। पछिल्लो एक सातामा बेइजिङ, सांघाईलगायत ग्वाङ्डोङ, जियाङ्सु, शानडोङ र झेजियाङ प्रान्तमा कोभिडका नयाँ केसहरू भेटिएका छन् ।
चीनमा कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पनि पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ।