नेपाल आयल निगमले आगामी अङ्ग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरेको छ ।

निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्याङ्कको गत मङ्सिर २९ गते शिलान्यास गरी निर्माणकार्य सुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्याङ्की नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।
अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्याङ्कहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको सुरुवात गरिएको बताउनुभयो ।
उहाँले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको जानकारी दिनुभयो । प्रमुख यादवले दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आईओसीले एक/एक वटा ट्याङ्कको लागत व्यहोर्ने जानकारी दिनुभयो ।

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिने बताउनुभयो । निगमले करिब ७५ करोड भारतीय रुपियाँ खर्च गर्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

प्रमुख यादवले निगमले एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताउनुभयो । त्यस्तै, निगमको एक अर्ब ५४ करोड भारतीय रुपियाँ बराबरको खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी, भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्निकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपियाँ बचत हुने भनाइ उहाँको छ । अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक करिब दुई अर्ब रुपियाँ बचत भएको छ ।

प्रमुख यादवले दोस्रो चरणको भर्टिकल ट्याङ्कहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अङ्ग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताउनुभयो । उहाँले दोस्रो चरणमा चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्याङ्क, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने जानकारी दिनुभयो । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्षसमेत निर्माण हुनेछ ।

यसैगरी, आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने छ । अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्याङ्करको सङ्ख्या शून्य हुने उहाँले बताउनुभयो । यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवान भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न समेत सहयोग पुग्ने छ ।

तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपियाँ बचत हुने अनुमान प्रमुख यादवको छ । तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा सात सय ट्याङ्कर आवतजावत हुनेछ । उहाँले दोस्रो चरणको निर्माणकार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रुपमा हुने र पाइपलाइनको ४२ प्रतिशत प्रयोग भए पनि दोस्रो चरणको निर्माण सम्पन्न हुँदा पूर्णरुपमा प्रयोग हुने बताउनुभयो ।

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । उक्त परियोजनाको लिखित इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप पाँच÷पाँच हजार किलोलिटर क्षमताको ट्याङ्क निर्माणको तयारी सुरु गरिएको छ ।निर्माण सम्पन्न भएपछि पाँच दिनको माग धान्नसक्ने डिजेल र सात दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ ।

 

शुक्रबार, १३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो