Trending
इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ।
फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताए। चियाको पहिलो टिपाइलाई विशेष सावधानीका साथ संकलन गरिन्छ। चियाको कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी हने गरेको व्यवसायी पाण्डेको भनाइ छ।
इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको छ। उनले इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी दिए। ‘यसलाई सुरक्षित ढंगले टिपिन्छ। यहीबाट उच्च गुणस्तरको चिया तयार हुन्छ’, सुब्बाले भने, ‘पहिलो टिपाइमा मात्रै करिब अढाइ सय किलो चिया संकलन भएको छ।’ उनका अनुसार सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा क्रमशः चिया टिपाइ सुरु भइसकेको छ।
इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाले यसवर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताए। किसानलाई प्रतिकिलो ६५ रुपैयाँदेखि प्रतिकिलो एक हजार ५ सय रुपैयाँसम्म मूल्य दिने व्यवस्था गरिएको उनको भनाइ छ।
स्थानीय किसानका लागि चियाको पहिलो टिपाइ वर्षको आशाको सुरुवात जस्तै हुने गर्छ। सूर्योदय नगरपालिका-१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य राम्रो पाइन्छ। ‘पहिलो टिपाइ राम्रो भयो भने वर्षभरि नै चिया उत्पादनप्रति उत्साह बढ्छ’, अधिकारीले भने, ‘यो किसानका लागि वर्षको सुरुवातमै आउने राम्रो आम्दानी हो।’
माई नगरपालिका-५ का किसान बुद्ध लिम्बूले यसवर्ष कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना छ।
इलामसँगै पाँचथरमा रहेको कञ्चनजंगा चिया कारखानाले पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ। उद्योगीहरूका अनुसार यसरी तयार भएको चिया विशेष गरी जर्मनी, रुस, अमेरिकालगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ।
इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत फरक-फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन्। मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताए। उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ। उक्त परिमाणको चियाबाट दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्यांकले देखाएको छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार इलाममा करिब सात हजार ६०० भन्दा बढी किसानले सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन्। रासस