Trending
बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिलीएका छन् । अहिले उहाँको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
गाभर दलित महिला समूहमा आवद्ध उहाँले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताउनुभयो । “बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौँ”, पदमीकलाले भन्नुभयो । खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गर्नुभएको छ । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक रु दुई हजार देखि दुई हजार ५०० सम्मको बिक्री हुने गरेको उहाँको भनाइ छ ।
थोरै पैसाका लागि पनि विगतमा श्रीमान्को भर पर्दै आएका दलित महिला अहिले कुखुरापालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन् । दलित महिला सङ्घ (फेडो)ले सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृदि कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिकरूपमा सशक्तीकरणको बाटोमा लम्किएका छन् ।
समूह गठन भएपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । व्यवसाय सञ्चालन गरेपछि जीविकोपार्जनमा सहज भएको बैजनाथ गाउँपालिका–८ राइटरपुर निवासी पम्फादेवी सुनारले बताउनुभयो । तरकारी खेती, कुखुरापालन र बङ्गुरपालन गर्दै आउनु भएकी उहाँले समूहबाट ऋण लिएर उत्पादन गरेको वस्तु बिक्रीबाट मसिक रु ५० हजारसम्म आम्दानी गर्दै आएको दाबी गर्नुभयो ।
उहाँले उद्यमशीलतासम्बन्धी तालिम तथा सहुलियत ब्याजदरमा ऋण पाए गाउँका थुप्रै महिला व्यवसायमा जोडिने र घरेलु हिंसासमेत कम हुने बताउनुभयो । समूहमा आवद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आउनु भएकी बैजनाथ गाउँपालिका वडा नं ३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले पनि विभिन्न किसिमका तालिम तथा सहयोग गर्न सके आर्थिक अभावले घरमा हुने हिंसा न्यूनीकरण गर्नमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तिकरण गराउँदै वडा तथा गाउँपालिकास्तरका संरचनामा सहभागी बनाउन दलित महिला सङ्घ (फेडो) ले लामो समयदेखि कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक दिलासा गौतमले जानकारी दिनुभयो ।
दलित महिला सङ्घले हाल बाँकेको बैजनाथ, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत प्रत्येक टोलमा २८ जना सदस्य रहेको समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार सहयोग गर्दै आएको गौतमले बताउनुभयो।
दलित महिलालाई आर्थिक तथा सामाजिकरूपमा अगाडि बढाउन आफूहरूले लक्षित वर्गका कार्यक्रम विनियोजन गरेर लागिपरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताउनुभयो । उहाँले स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न चाहने र गरिरहेका दलित महिलालाई प्रोत्साहनस्वरुप गाउँपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। रासस