Trending
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा। शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ ।
विराटनगरस्थित कोइराला निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरी नेता कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहित केही दललाई मिलाएर नयाँ सरकार बन्ने जानकारी दिनुभएको हो ।
‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनका सबै साझेदार दलहरू सँगसँगै रहेर नयाँ सरकार गठन हुन्छ,’ नेता कोइरालाले भन्नुभयो ‘चुनावको अन्तिम परिणाम आइसकेपछि कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’
निर्वाचनबाट केही नयाँ पार्टीहरू अस्तित्वमा आएको भए पनि उनीहरूको वैचारिक रुझान प्रस्ट नभइसकेकाले उनीहरूलाई गठबन्धनमा आबद्ध गर्ने विषयमा केही समय पर्खनुपर्ने नेता कोइरालाले बताउनुभयो ।
‘नयाँ दलभित्र कसैले सेन्ट्रल टु राइट र केहीले सेन्ट्रल टु लेफ्ट भनेको विषय सार्वजनिक भएको छ,’ उहाँले भन्नुभयो ‘यो विषय प्रस्ट भएपछि कसरी जाने भन्ने कुरा होला ।’ उहाँले सात वटा राष्ट्रिय पार्टी भएको र थप एउटा पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावनाको निकट रहेकाले अन्तिम परिणाम आएपछि सरकार गठनको विषयले मूर्तरूप लिने बताउनुभयो ।
प्रधानमन्त्री जो बने पनि सुशासन र भ्रष्टाचारका विरुद्धमा केन्द्रित भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सुशासन बिना देशलाई अगाडि बढाउन सकिँदैन । अब भ्रष्टाचारको विरुद्धमा हामी अघि बढ्नुको विकल्प छैन,’ आफ्नै पार्टीका नेताहरूले गर्ने भ्रष्टाचारका विरुद्धमा पनि अब सदनमा कुरा उठाएर सुशासनको पक्षमा हामी सशक्त भूमिका खेल्छौँ ।’
सम्पन्न आम निर्वाचनबाट नेपाली कांग्रेसले अपेक्षा गरेअनुसारै परिणाम प्राप्त गरेको नेता कोइरालाले बताउनुभयो । ‘मैले गठबन्धन गर्दै गर्दा नै कांग्रेसले ९० सिट वरिपरि मात्र नतिजा ल्याउँछ भनेको थिएँ, प्रत्यक्षमा ५५ देखि ६० र समानुपातिकमा ३२ देखि ३५ कै अपेक्षा थियो त्यसै अनुसार परिणाम प्राप्त हुने देखिएको छ,’ नेता कोइरालाले भन्नुभयो ‘तर, नेपाली कांग्रेसका नेता कार्यकताले अझ इमानदारिताका साथ मिहिनेत गरेको भए यो भन्दा राम्रो परिणाम आउँथ्यो’ ।
गठबन्धन दलभित्र सहयोग असहयोगको विषयमा आपसमा आरोप प्रत्यारोप चलिरहेको सन्दर्भमा उहाँले समीक्षा गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।