उमेरले ७३ वर्ष पार गरे पनि जोसजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका-२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको। बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ।

२५ वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन्। यसअघि कुनैबेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन्।

तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित भएका छन्। सुरुमा उनले मौरी पाल्न थाले। जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेका हुन्।

पहाडी भेगमा अनुकूल हुने एपी सेरेना जातको मौरी पालेका तिमिल्सिना यो व्यावसायबाट गतिलो कमाइ गर्न सफल भएको बताउँछन्। तिमिल्सिना भन्छन्, ‘यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ। गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन। मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन।

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ। कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्षमात्र उनले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका थिए।

बगैँचामा अहिले ३५ वटा घारको स्याहार उनले गर्छन्। घारको सङ्ख्या धेरै भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घार बगायो। केही अरिङ्गाल चराले नष्ट गरे। गत वर्षमात्र ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको उनले बताए।

अहिले वर्षमा दुईसय किलो जति मह उत्पादन हुन्छ। मह प्रतिकिलोको एक हजार ५०० रूपैयाँमा बिक्री हुन्छ। गाउँलेसहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारी महका ग्राहक हुन्। केही वर्ष अगाडि मौरीपालनबाटै वार्षिक १५ लाख रूपैयाँसम्म कमाएका उनको आम्दानी भने पहिलेको जस्तो छैन।

जलवायु परिवर्तन, शत्रु जीव र कीराको आक्रमण, जग्गा बाँझो रहनुलगायत कारण मौरीपालनमा कठिनाइ भएको तिमिल्सिनाको अनुभव छ। विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका उनी जिल्लाकै नमूना मौरीपालक किसान हुन्। उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाट नै बिक्री हुने गरेको छ भने काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ।

कुश्माबजार, बागलुङ, क्षेत्रबाट पनि व्यावसायी घरमा नै आएर मह लैजाने गरेका छन्। मौरीसहितका घार प्रतिगोटा १० हजार र मह प्रतिकिलो एक हजार ५०० रूपैयाँमा बिक्री गर्दै आएको उनले बताए।

मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने भएकाले सागसब्जीखेती, पशुपक्षी तथा कुखुरापालनमाजस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सयभन्दा बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन्। सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ। रासस

बुधबार, १९ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !