Trending
विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र अब झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ ।
ललितपुर महानगरपालिकाले पुरानो चाइनिज इँटा हटाएर परम्परागत ‘तेल्या’ रैथाने इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी क्षेत्रको रूप फेरिएको हो ।
करिब एक करोड ५२ लाख रुपैयाँ लागतमा सम्पन्न गरिएको यस कार्यले दरबार क्षेत्र सफा, बलियो र टिकाउ देखिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनका अनुसार मल्लकालदेखि प्रयोग हुँदै आएको तेल्या इँटा चम्किलो, टिकाउ र पानी जम्न नदिने विशेषताका कारण संरक्षणका लागि उपयुक्त मानिन्छ ।
पूर्वराजा वीरेन्द्र शाहको राज्याभिषेकका समयमा बिछ्याइएको चाइनिज इँटा समयसँगै जीर्ण भएपछि नयाँ तेल्या इँटा राखिएको हो । यसले दरबार क्षेत्रको सतह करिब चार इञ्च उचालिएको छ ।
स्थानीयवासीले महानगरको यो कामलाई अत्यन्तै सकारात्मक कदम भन्दै स्वागत गरेका छन् । उनीहरूको भनाइमा नयाँ इँटा राखिएपछि क्षेत्र सफा, चम्किलो र आकर्षक देखिएको छ, साथै फोहर र पानी जम्ने समस्या पनि हटेको छ ।
महानगरले यस किसिमका गतिविधिले सम्पदाको मौलिकता जोगाउँदै पर्यटकीय आकर्षण बढाउने अपेक्षा गरेको छ ।
दरबार क्षेत्रको निरन्तर मर्मत र पुनर्निर्माणमार्फत ऐतिहासिक सम्पदाको संरक्षणलाई अझ सुदृढ बनाइने महानगरपालिकाले जनाएको छ ।