Trending
लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका सहरका लागि छुटेका सवारी साधन रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेको प्रहरी निरीक्षक ओझाले बताए। यसका साथै सोही पहिरोले बैतडीको पुर्चौडी क्षेत्रको यातायात सेवा पनि अवरुद्ध भएको छ।