काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७४ मा बस्ती निर्माणको काम थालेको थियो ।

३ वर्षमा सक्ने गरी सुरु भएको काम ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो । योजनाअन्तर्गत ६ वटा घर बन्न बाँकी छन् भने बनेका घर पनि अधुरा छन् । नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो ।
बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।

बाँकी काम पूरा गर्न नगर कार्यालयले ४० लाख रुपैयाँ सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो ।

सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमुना तामाङ बस्तीको निर्माण थालिएको थियो । नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फर्छयौट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आएका छन् ।

यसअघि नगरले १० लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए ।

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक ५४ लाख रुपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको तामाङले बताए । प्राधिकरणबाट दुई करोड ८० लाख रुपैयाँ रकम निकासा भएको उनले जानकारी दिए ।

तामाङका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो ।

तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएको बताए ।

स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खटिएका थिए । ‘गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको दुई वर्ष भैसक्यो’, पञ्चकुमारीले भनिन् ।

पञ्चकुमारीले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गरेका थिए । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रुपैयाँ निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार पनि खर्चिइएको हो ।

बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो । नमुना बस्तीमा ४० लाख रुपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ ।

उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो । ६ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् ।

बिहिबार, ८ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो