Trending
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
मौन अवधिभर निर्वाचन प्रसारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाइनुपर्नेछ ।
आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन ।
उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगले निर्वाचनमा भाग लिने मतदाताहरूलाई मतदाता सूचीमा आफ्नो नाम भए/नभएको यकिन गर्न पनि अनुरोध गरेको छ । जसका लागि आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचनमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग ‘क्रस भेरिफाइ’ गर्न अनुरोध गरिएको छ।
आयोगले मतदानको व्यवस्था मिलाउनका लागि सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।