दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो। प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो।

कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचनाहरु बनाइएकामा आयोजनाले एउटामात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो। नेपाल सरकारको करिब रु ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी उक्त लाइन सञ्चालनमा ल्याइएको हो।

त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

“चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरुमा जलविद्युत् आयोजना निर्माणका लागि ढोका खुलेको छ”, उनले भने।

अब त्यस क्षेत्रमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ। त्यहाँ उत्पादित विद्युत् स्थानीयरूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार हुनेभएको छ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब एक सय १० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा एक सय ३२/३३ केभी सबस्टेसन सञ्चालित छ।

बलाँच सबस्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ। त्यस क्षेत्रमा करिब छ मेगावाट विद्युत् खपत हुन्छ। स्याउले सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमश : करिब ८० र दुई सय मेगावाट हुन्छ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरु गरिएको थियो। कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेल्धुरा तथा दार्चुला जिल्लाका केही स्थानीयवासीले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए। रासस

शनिबार, ३० असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान