Trending
काठमाडौं महानगरपालिकाले महानगरका विद्यालयको नाम र चिन्हकाबारेमा एकरूपता ल्याउने भएको छ । त्यसका लागि महानगरले विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आइतबार सामाजिक संजालमार्फत यसबारे जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको छ ।
विद्यालयको चिन्हः विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ । विद्यालयको नामाकरणः (१) समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ ।’