जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।

कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।

मार्सीधानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका पातारासी गाउँपालिका–३ का मुनबहादुर एडीले बताए । “धान खेतीका लागि प्रशस्त पानी तथा सिँचाइ सुविधा खेतमै पुगेको छ । महिनौँदेखि मिहेनत गरेर रोपिएको धान घर भित्र्याउने समयमा रोगकिराको सङ्क्रमण हुने र असिनापानीले झारिदिनाले यहाँका किसान कालीमार्सीधान रोप्न चासो गर्दैनन्”, उनले भने । कालीमार्सीधानको आफ्नै पहिचान भए पनि पहिचानले मात्र खानलाउन नपुग्ने भन्दै खेती गर्न छोडिएको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाको भनाइ थियो । धान लगाउन गर्ने मेहनत अन्य अन्नबाली लगाउन गरे उत्पादन बढी हुने उनले बताए ।

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सीधान खेती हुने पातारासी गाउँपालिकाका कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिए । उनका अनुसार कालीमार्सीधान खेती संरक्षण गर्नका लागि किसानलाई उत्पादनमूलक क्षमता अभिवृद्धि गर्दै विभिन्न तालिम उपलब्ध गराइएको छ । “किसानले उत्पादन गरेको धान बजारीकरण हुन सकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्”, प्रमुख बुढाले भने । यस वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गर्न कृषकलाई तालिम तथा अन्य आवश्यक सहयोग गरेर प्रोत्साहन गर्ने तयारी गरिएको उनको भनाइ थियो ।

यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्दछ । एक महिना यार्सा सङ्कलन गर्दा तीन गुणा बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थाीयको भनाइ छ । यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रू ५० हजारदेखि एक लाखसम्म कमाउँछन् ।

एक महिनाको कमाईले वर्षदिनको रोजीरोटी सहजै व्यवस्था हुने भएपछि धान खेती गर्नुभन्दा यार्सा टिप्नु सहज हुने यहाँका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले कालीमार्सीधान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सीधानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यही जेठको पहिलो सातादेखि खेतमा मार्सीधानको रोपाइँ हुने भए पनि यो याममा जौँ खेती गर्ने किसानले बताएका छन् । रासस

सोमवार, ४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो