Trending
सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको आन्तरिक परिक्षण पूरा भएको छ । बेनी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको आन्तरिक परिक्षण पूरा गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।
आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम सकाएर परीक्षण पूरा गरेको कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताउनुभयो । ‘आयोजनाको विद्युत ग्रिडमा जोडिनु अघिको सबै काम पूरा भइसकेको छ’, उहाँले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीले परीक्षण पूरा गरी शुक्रबार (चैत १७ गते) देखि राष्ट्रिय प्रणाली प्रणालीमा जोड्ने योजना छ ।’
आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ, त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।
आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने १२ किलोमिटर प्रसारण लाइनको काम प्रवर्द्धक कम्पनीले नै निर्माण गरेको छ ।
आयोजना सम्पन्न गर्न ३ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाम एनएमबी बैंकको अगुवाईमा ४ बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी हो ।
त्यसअघि आयोजनाबाट २०७६ साल पुसमा नै विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । सुरुवातमा प्रसारण लाइनको समस्या, फेरि कोभिड–१९ महामारी लगायत विविध कारणले आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित भएको हो ।
आयोजनाको संरचना निर्माण गर्दा सुरुवातमा १८ मेगावाट क्षमतामा काम सुरु गरिएको थियो । आयोजना निर्माणाधीन अवस्थामै रहेका बेला क्षमता विस्तार गरी जडित क्षमता १९।८ मेगावाट बनाइएको हो ।
सोलु खोला बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायतका आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु, ८६ मेगावाटको सोलुदूधकोसी निर्माण पूरा भई सञ्चालनमा आइसकेको छन ।