Trending
प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको हो ।
सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबार (फागुन १६ गते) बाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताउनुभयो ।
‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ,’ उहाँले भन्नुभयो, ‘मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ ।’ निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्ववाद दिँदै युनले तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको बताउनुभयो ।
आयोजनाको भूमिगत विद्युतगृह खन्ने काम करिब २१ प्रतिशत सम्पन्न भएको छ । २०७८ पुसबाट निर्माण सुरु भएको आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजना निर्माणस्थलमा परिचालित ७ सय कामदारमध्ये ३ सय रसुवाका स्थानीय बासिन्दा छन् ।
आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ । उत्पादित विद्युत आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा निर्माण हुन लागेको आयोजना हालसम्मकै ठूलो हो ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूजी लगानी व्यवस्थापन गरिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिएन साउथ इष्ट पावर कम्पनी लिमिटेड (कोएन), विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) लगायतको सेयर लगानी छ ।
आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युतमध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि यो आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।
आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ९फार्म० विद्युत प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।