मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ ।

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उहाँले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिनुभएको छ ।

तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू एक लाख ५० हजार लगानी गरी उहाँले मेहनती मसरुम कृषि फर्म सुरु गर्नुभएको थियो । हाल कम्पनीमा रू एक करोडभन्दा बढी लगानी भइसकेको उहाँको भनाइ छ ।

तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउ खेती हाल हाल चार वटा पक्की घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उहाँले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिनुभयो ।

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उहाँको भनाइ छ । हाल थोकमा रू एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्‍याई सक्नुपर्ने र ७ बजे सम्ममा विराटनगर र धरानसम्म पुर्‍याई सक्नुपर्ने हुन्छ ।

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्‍याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाउनुभएको छ । उहाँले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिइरहनुभएको छ भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाउनुभएको छ ।

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाइँ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहनुभएको थियो तर दुई वर्ष अघि उहाँको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उहाँ काठमाडौँस्थित च्याउको बिउ उत्पादन गर्ने ल्याब सञ्चालन गरिरहनुभएको छ ।

विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बिउ लिइरहनुभएको छ । दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उहाँले सुनाउनुभयो । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उहाँ बताउनुहुन्छ ।

“वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैङ्कहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास बैङ्कमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे”, उहाँले गुनासो गर्नुभयो । रासस

आइतवार, ७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो