Trending
उद्योगी–व्यवसायीहरूका नौवटा महासंघ र ३८ वटा संघहरूले बैंकविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते बैंकहरूविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्न लागेको जानकारी दिनुभयो ।
व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी–व्यवसायीहरूमा रहेको सिन्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न लागेको बताउनुभयो ।
लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको समितिले जनाएको छ । कोभिड महामारीलगायत विविध कारणले नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा समेत सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले बताउनुभयो ।
बैंकहरूले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीको सिन्डिकेटविरुद्ध एकपटक एक भएर बाहिर आउन उहाँले सबै उद्योगी व्यवसायीलाई आह्वानसमेत गर्नुभएको छ । फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्न नभई व्यवसायी र व्यापारीहरूको हितका लागि गर्न लागेको उहाँको दाबी छ ।