Trending
खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो हुने निष्कर्षसाथ जिल्लाको उत्तरी क्षेत्रका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो बढाउन थालेका हुन् ।
बर्दिबास नगरपालिका–९ पशुपतिनगरका तरकारी उत्पादक किसान रामविनोद महतोले पाँच वर्षयता रासायनिक मल, किरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छाड्नुभयो । “मल, बीउ र किरा नियन्त्रणका औषधि आफैँ बनाउँछु”, महतो भन्नुहुन्छ, “आफैँले उत्पादन गरेको बीउबाट उत्पादित फसल पौष्टिक, प्राकृतिक स्वादको र सुपाच्य हुन्छ ।” प्राङ्गारिक खेतीपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।
तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ/नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको किसानको भनाइ छ । हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ रामनगरका किसान नारायण दाहाल बताउनुहुन्छ । दाहालले वरपर पाइने वनस्पति र गाईको गहुँतबाट बालीमा लाग्ने किरा नियन्त्रणका औषधि बनाउनुहुन्छ ।
झारपतिङ्गर, त्यतिकै मिल्किएका फोहर, मल बनाउन नै खेती गरिने ढैँचा (एक प्रकारको वनस्पति) र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको बड्कुला मल बनाउन प्रयोग गर्न सकिने दाहालका छिमेकी धनेसी महतो बताउनुहुन्छ । यस्तो मलले माटोलाई उर्बर बनाइराख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने भएकाले प्रभावकारी बनेको किसान चन्देश्वर राय दनुवारको भनाइ छ ।
बालीलाई मल चाहिने बेला रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको यकीन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफूहरु परम्परागत प्राङ्गारिक खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ । तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अपनाउन थालिएको र यो निक्कै सफल भएको बर्दिबास–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउनुहुन्छ ।
प्राङ्गारिक खेती थालिएको वर्ष २०७० मा उत्पादन अलि कम भयो । पछि क्रमशः उत्पादन बढ्दै गएपछि खासै समस्या नभएको किसानको भनाइ छ । विधिबाटै गरिएको खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो सामान तत्काल किन्ने गरेका बर्दिबास–५ चेरुका परबल उत्पादक वाणिकराज काफ्लेको अनुभव छ ।
भङ्गाहा–४ रामनगरका सत्यनारायण यादवले आफ्नै बालीबाट बीउ उत्पादन थाल्नु भएको छ । धान, गहुँ, तरकारी बालीमा ओल र मसलामा अदुवा, बेसारको बीउ खेतबारीमा उत्पादन थालिएको र बजार राम्रो जमेको यादवको अनुभव छ । “हामीले पहिले कृषि प्राविधिककै रेखदेखमा बीउ उत्पादन थाल्यौँ”, गढीमाई कृषि सहकारी संस्थाका अध्यक्ष रहनुभएका यादवले भन्नुभयो, “हामीले उत्पादन गरेको बीउ पूर्वदेखि पश्चिम माहाकालीसम्मका सहकारीले लान्छन् ।” विशेष विधिबाट उत्पादन गरिएको बीउको उमार र उत्पादन राम्रो भएपछि मागअनुसार दिन भ्याइनभ्याई नै पर्ने गरेको यादवको भनाइ छ ।
प्राङ्गारिक उत्पादनका बाली स्वाभाविक आकार र रङका हुने भएकाले ठम्याएर किन्न गा¥हो नहुने बर्दिबास–१ की गृहिणी प्रतिमा कोइराला बताउनुहुन्छ । यस्ता उत्पादन बजार पुग्नासाथ तत्काल खपत भएपछि त्यस्ता किसान उपभोक्ताको रोजाइमा पर्छन् । केही वर्षयता प्राङ्गारिक मल, बीउ र किट नियन्त्रक औषधि उत्पादनका उद्योग स्थापित भएका किसानले सुनेका छन् । तर यी उत्पादन आफ्ना नजिकका बजारमा नआइपुगेको किसानको गुनासो छ ।
स्थानीय तहले आफ्ना क्षेत्रभित्र कृषि सम्बद्ध प्राङ्गारिक सामग्रीको बेचबिखन केन्द्र व्यवस्थित गर्न ध्यान दिन पर्ने भङ्गाहा–४ रामनगरका अर्का तरकारी उत्पादक किसान बहुरा महतो बताउनुहुन्छ । प्राङ्गारिक खेती ठिक भएको बुझेका किसान पनि बजारमा यस्ता कृषि सामग्री नपाउँदा मन मारेर रासायनिक मल र विषादीको चक्करमा भौँतारिएका महतोको गुनासो छ ।
सहसचिबबाट सेवा निवृत भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल प्राङ्गारिक खेतीतर्फ किसानको बढ्दो आकर्षण सकारात्मक भएको बताउनुहुन्छ । “प्राङ्गारिक खेतीका लागि बीउ, मल र किट नियन्त्रक औैषधिका बजार सबैतिर छैनन्, यो व्यवस्थित गर्न सक्नुपर्छ”, भुजेल भन्नुहुन्छ, “पहिलो पटक उद्योगबाट उत्पादित प्राङ्गारिक मल प्रयोग गर्दा मात्रा बढी दिन पर्ने हुँदा महँगो लाग्नसक्छ, तर बर्सेनि यो मात्रा घटाउँदै लान सकिने भएको हुँदा क्रमशः यो खेतीमा लागत घट्छ ।” रासस