Trending
चिया क्षेत्रका लागि मलको कोटा निर्धारण गर्न झापाका किसानले माग गरेका छन् । प्रदेश एवं केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै चिया क्षेत्रलाई आवश्यक मल वितरणको व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका हुन ।
सरकारले चिया क्षेत्रलाई दुई वर्षदेखि मल वितरणमा रोक लगाएकोप्रति किसानको आपत्ति जनाएका छन । सरकारी अवरोधका कारण किसानले दुई वर्षदेखि मल पाएका छैनन् । मल नपाएकाले उनीहरू सरकारप्रति आक्रोशित बनेका हुन् । जिल्लाका चिया बगानमा मंसिरदेखि चियाका बिरुवा कलमी र गोडमेल गर्ने काम चलिरहेको छ । बगानभित्रको झारपात हटाएर गोडमेल गरे तापनि चियाका बोटमा मल हाल्न नपाउँदा किसान सरकारप्रति रुष्ट छन् । उनीहरू चिया बगानमा मलबिनै सिँचाइ मात्र गर्न बाध्य छन् ।
जिल्लामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । वार्षिक एक हजार ५ सय टन मल भए चिया खेतीलाई पर्याप्त हुने बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभयो । ‘प्राविधिक नियमले चियामा वर्षमा कम्तीमा चार पटक मल हाल्नुपर्छ । तर मल नपाउने समस्याले किसानले दुई पटक पनि मल हाल्न सकेका छैनन्,’ उहाँले भन्नुभयो । जिल्लाका सबै १५ वटै पालिकामा चिया खेती छ ।
०७६ सम्म चिया किसानले मल पाइरहेका थिए । त्यस बेलासम्म ठूला चिया बगानलाई संघ तथा साना किसानलाई बोर्डको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले मल वितरण गर्दै आएको थियो । निर्देशिकाबमोजिम स्थानीय तहलाई आफ्नो पालिकाभित्रका चिया क्षेत्रलाई समेत आवश्यक मलको परिमाण समावेश गरी माग गर्न किसानले ध्यानाकर्षण गराएका छन् ।
मलका लागि साना चिया किसान सहकारीलाई पनि डिलर दर्ता गर्न उनीहरूको माग छ । कृषि सामग्री कम्पनी बिर्तामोड शाखामा ५ सय १८ टन युरिया, १ सय ५८ टन डीएपी र ६ टन पोटास मौज्दात रहेको बताइएको छ ।