Trending
काठमाडौं उपत्यकामा चिसो उल्लेख्य रूपमा बढेको छ। तापक्रम निरन्तर घट्दै गएपछि उपत्यकामा जाडो थप कडा बनेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा चिसो बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम मापन भएको विभागले जनाएको छ।
मौसमविद्का अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम करिब ३ डिग्री सेल्सियससम्म झरेको छ। काठमाडौंमा आज ३.७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियसमा झरेको छ।
आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ, जसका कारण चिसो अझ बढी महसुस हुन थालेको छ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्ने पूर्वानुमान गर्दै अनावश्यक काममा बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरिसकेको छ। मन्त्रालयका अनुसार जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अन्यको तुलनामा बढी स्वास्थ्य जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।