काभ्रेपलाञ्चोकमा कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ। विभिन्न निकाय तथा संघसंस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ।

होटल एशोसिएशन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ।

यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो। त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो। हानका जिल्लाध्यक्ष प्रह्लाद प्याकुरेलले उक्त कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको बताए। उनले जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि ‘सुन्तला हाइकिङ’ कार्यक्रम पुनः सञ्चालनमा ल्याउन लागिएको बताए।

डेढ दशकअघि सन् २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध-बल्थली ‘सुन्तला हाइकिङ’ कार्यक्रम आयोजना गरेको थियो। यसपटक पाँच वर्षपछि भएको हान काभ्रेपलाञ्चोक च्याप्टरको अधिवेशनसँगै कार्यक्रम ब्युँत्याइएको जनाइएको छ।

जिल्लामा सुन्तलाखेतीको प्रचुर सम्भावना रहेकाले यसै सिजनमा नयाँ स्वरूपमा कार्यक्रम ब्युँत्याइने धुलिखेलस्थित होटल सारथिका प्रबन्ध निर्देशकसमेत रहेका प्याकुरेलले बताए। क्रिसमसको दिन पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

कार्यक्रमअन्तर्गत पदयात्राका लागि जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म ‘रुट’ तय गरिएको छ। पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन्। साथै स्थानीय बगैँचाका बोटबाटै ताजा सुन्तलासमेत खान पाउनेछन्।

यात्रामा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिँदै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरको विश्वकै अग्लो त्रिशूललगायतका धार्मिक तथा पर्यटकीय विकासबारे अवलोकन गर्न सकिने जनाइएको छ। क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सीलगायत कृषिसम्बद्ध पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ।

यसपटकको प्रवर्द्धनात्मक ‘सुन्तला हाइकिङ’को अनुभवले आगामी वर्षदेखि सुन्तलाको सिजन (नोभेम्बर र डिसेम्बर) मा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष्य लिएको हानले जनाएको छ। यसमा होटल तथा रिसोर्टका ट्यारिफमा विशेष छुटका साथै अन्य आकर्षण थप्ने योजना बनाइएको छ।

आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तीमा एक हजार जना पर्यटक काभ्रेपलाञ्चोक आउने र ‘सुन्तला हाइकिङ’ मा रमाउने गरी व्यवस्थापन गर्ने तयारी हुने हानले जनाएको छ। यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। करिब डेढ सयमध्ये हाल जिल्लामा ३२ वटा स्तरीय होटल तथा रिर्सोट हानमा आबद्ध छन्।

यसैबीच जिल्ला कृषि विकास कार्यालयले यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरेको छ। गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो। हाल सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिने काम भइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए। उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षको भन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको हो।

कार्यालयका अनुसार जिल्लामा वि.सं. २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढीपहिरोले बगैँचामा क्षति पुर्‍याउँदा ५०० मेट्रिकटन गिरावट भएको थियो। जिल्लाको कुल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ। यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो। रासस

बिहिबार, १० पुस, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !