Trending
स्याङ्जाको पुतलीबजार नगरपालिका-७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई बिस्तार गर्दै उनले राम्रो आम्दानी गरिरहेका हुन्। कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको छ।
विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका सेनले सुन्तलाको बगैँचा विस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन्। उनले यसवर्ष ३ सय सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन्।
‘छत्तिस रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३ सय बोटमा मात्रै उत्पादन भएको हो’ उनले भने, ‘स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ।’
स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन्। बगैँचामा पुराना ३ सय र नयाँ एक हजार ५० गरी एक हजार ३ सय ५० वटा सुन्तलाका बोट रहेका छन्। नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताए।
उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन्। ‘यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’ उनले भने, ‘उत्पादन हुनुपर्यो स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन्।’ किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन्।
बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गइरहेका छन्।
‘बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाउनुभएको थियो, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए’ उनले भने, ‘पहिला लगाएका बोटहरु मरेपछि फेरि मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि पाँच-छ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ।’
सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन्।
सुन्तलामा पटक-पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढेका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाहअनुसार पुनः सुन्तला खेती गरेका थिए। रासस