Trending
पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ।
जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन्। जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन्।
यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनमा उत्पादन बढेको स्थानीय कृषक बताउँछन्। पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट तीन लाख रुपैयाँ आम्दनी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिका-७ का कृषक रामकुमार कार्कीले बताए।
उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भए पनि उत्पादन बढेको छ। बगैँचाबाटै प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँमा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन।’
कम मेहनत र लगानीमा मनग्य उत्पादन हुने भएकाले जुनारखेतीबाट आफूहरू सन्तुष्ट रहेको रामेछाप-७ की कृषक ज्ञानुदेवी बस्नेतले बताइन्। उनले भनिन्, ‘यो खेतीबाट हामी सन्तुष्ट छाैँ। एउटा साधारण बगैँचामा उत्पादित फल बेच्यो भने दुई लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’
करिब १८ रोपनी जग्गामा व्यावसायिक रूपमा जुनारखेती गर्दै आएका रामेछाप-६, ओख्रेनीका हिमाल तामाङले उत्पादन बढेको भन्दै खुसी व्यक्त गरे। उनले भने, ‘मैले गत वर्ष काठमाडौंका व्यापारीलाई बगैँचाबाट प्रतिकिलो ७५ रुपैयाँदेखि ८० रुपैयाँमा बिक्री गरेर करिब तीन लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको थिएँ। यहाँ तीन सय बोट छन्, त्यसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन् भने ५० बोट हुर्किँदैछन्।’
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापले जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाँउपालिकालाई जुनार जोनका रूपमा विस्तार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा खेती भए पनि चालु आर्थिक वर्षमा लिखु तामाकोशी गाँउपालिकाका विभिन्न वडामा १०० हेक्टर क्षेत्रफल थपिएको इकाइकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिइन्। क्षेत्रफल थपिएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको उत्पादन बढ्ने अनुमान गरिएको उनले बताइन्।
यसैबीच, मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रालिले गर्मीको सिजनमा जुस बनाएर बिक्री गर्ने उद्देश्यले गाउँमा जुनार खरिद गरी ग्रेडिङ गर्ने, ताछ्ने र रस बनाएर भण्डारण गर्ने काम सुरु गरेको छ। गाँउका किसानले उत्पादन गरेका जुनार गाँउमै खरिद गर्ने, गाँउलेलाई रोजगारी दिने र त्यसलाई पेलेर भण्डारण गरी गर्मी सिजनमा स्क्वास बनाएर बिक्री गर्न आफूले पहल थालेको प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए।
गाँउमा जुनार, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरी सीप विकासमा तालिमको व्यवस्था गरेमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आउने उनकाे भनाइ छ। रासस