Trending
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत पश्चिम नवलपरासीको सुनवलबाट औपचारिक रूपमा प्रसारण लाइन निर्माण कार्य सुरु भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकाका राजदूत डिन आर। थम्प्सनले संयुक्त रूपमा उद्घाटन गरेसँगै विगत केही समयदेखि तयारी अवस्थामा रहेको परियोजना अब निर्माण चरणमा प्रवेश गरेको हो ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत सुनवल–१३
सुर्यबस्तीदेखि नेपाल–भारत सिमानासम्म १८ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण हुनेछ ।
निर्माण कम्पनीका प्रतिनिधिलाई ‘बेल्चा’ हस्तान्तरण गर्दै प्रसारण लाइन तथा सबस्टेशन निर्माणको शुभारम्भ गरिएको हो ।
अवसरलाई ऐतिहासिक क्षणका रूपमा उल्लेख गर्दै अर्थमन्त्री खनालले परियोजनाले नेपालको ऊर्जा प्रशारण क्षमता अभिवृद्धिमा निर्णायक भूमिका खेल्ने बताए । “हाम्रो हातमा तीन वर्ष पनि पूरा समय छैन । निर्धारित समयमै काम सम्पन्न गर्न सरकार तदारुकताका साथ अघि बढिरहेको छ,” मन्त्री खनालले भने ।
उनका अनुसार परियोजनाले आन्तरिक बजारमा आवश्यकताअनुसार विद्युत आपूर्ति सुदृढ गर्नुका साथै दक्षिण एसियाली ऊर्जा बजारमा नेपालको उपस्थिति बलियो बनाउनेछ ।
खनालले भुमही–भैरहवा क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्ने सरकारी योजनासँग पनि प्रसारण लाइनले प्रत्यक्ष टेवा गर्ने बताए ।
अमेरिकी राजदूत थम्प्सनले एमसीसी परियोजनालाई नेपाल–अमेरिका सहकार्यको महत्वपूर्ण उपलब्धि बताउँदै नेपालको हरित ऊर्जा सुरक्षामा यसले ठोस योगदान पुर्याउने प्रष्ट पारे । “आर्थिक वृद्धि र क्षेत्रीय विद्युत व्यापारका लागि यो परियोजना अत्यावश्यक छ । संयुक्त राज्य अमेरिका दीगो सहयात्रीका रूपमा नेपालसँग उभिरहेको छ,” राजदूत थम्प्सनले भने ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार सुनवलदेखि सीमासम्मको मार्गमा ५३ वटा टावर निर्माण गरिनेछ । मुआब्जा वितरण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । टावर निर्माणका लागि १ कठ्ठा ८ धुरदेखि २ कठ्ठासम्म जग्गा अधिग्रहण गरिएकामा प्रति कठ्ठा ९ लाख १४ हजारदेखि ७३ लाख ६७ हजारसम्म क्षतिपूर्ति प्रदान गरिएको छ ।
सबस्टेशन निर्माण ३९ महिनाभित्र र प्रसारण लाइन २१ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित भारतीय दुई कम्पनीसँग ठेक्का सम्झौता भइसकेको एमसिए–नेपालले जानकारी दिएको छ । एमसीसी कम्प्याक्टअन्तर्गत देशभर ३१५ किलोमिटर प्रसारण लाइन तथा तीनवटा आधुनिक सबस्टेशन निर्माण गरिनेछ । नवलपरासीमा सुरु भएको काम परियोजनाको पहिलो चरणको रूपमा महत्वपूर्ण मानिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले प्रसारण लाइन निर्माणसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै क्षेत्रको समग्र विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।