Trending
यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमुख सुन्तला जोन बन्दै गएको छ।
लिम्चुङबुङ-५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन्। पाँच वर्षयता प्रत्येक घरका कृषकले २०० देखि ४०० सम्म सुन्तलाका बिरुवा विस्तार गरेका उनले जानकारी दिए। आफूले करिब ४५० बिरुवा हुर्काइसकेको जनाउँदै उनले बोटले फल दिन थालेको बताए।
लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको छ। हालसम्म करिब ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उनले जानकारी दिए।
लिम्चुङबुङ-३ ताम्लिछाका कृषक लखनसेर राईले भने, ‘पहिला आफ्नो बगानमा २० बोट सुन्तला थियो। अहिले दुईसय २५ पुगिसकेको छ।’ कृषक खेमबहादुर कार्कीले दुई वर्षदेखि वार्षिक एक लाख ५० हजार रूपैयाँ बराबरको सुन्तला बिक्री गर्न थालेको जानकारी दिए।
लिम्चुङबुङ-४ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन्। अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर राईले बताए।
पालिकाका उपाध्यक्ष राईका अनुसार पछिल्लो समय सुन्तताखेती विस्तार भएसँगै यस क्षेत्रबाट वार्षिक २० लाख रूपैयाँसम्मको सुन्तला बिक्री हुन थालेको छ। ‘अहिले पनि सुन्तलाका बिरुवा हुर्किरहेकाले आगामी चार वर्षभित्र पालिकामा १० करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ’, उनले भने।
अहिले पालिकाका सबै वडामा ‘एक घर सय बोट सुन्तला’ अभियान सञ्चालन गरेर खेती विस्तार गर्न थालिएको पालिकाका जनप्रतिनिधिले बताएका छन्।यसअघि सबैभन्दा बढी सुन्तला उत्पादन क्षेत्रका रूपमा ताप्ली गाउँपालिका रहेको थियो।
अहिले ताप्लीमाभन्दा लिम्चुङबुङ गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए।पालिकामा सबैभन्दा बढी सम्भावना बोकेको सुन्तला, डल्ले खुर्सानी, कागतीलगायत कृषिउपज रहेका बताउँदै उहाँले उत्पादन र खेती गरिएको क्षेत्रका आधारमा जोन विस्तार गर्दै जाने योजना रहेको उल्लेख गरे।
पछिल्लो समय यहाँ पटकपटक गरेर ५० हजार सुन्तलाका बिरुवा विस्तार गरिएको छ। ती बोटले फल दिन थालेपछि आम्दानी बढ्नुका साथै सुन्तलामा आत्मनिर्भर बन्नसक्ने अध्यक्ष राईको भनाइ छ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार यहाँका पहाडी क्षेत्रका पालिकाहरूमा तीव्ररूपमा सुन्तलाखेती विस्तार भइरहेको बताए। सबैभन्दा बढी लिम्चुङबुङ गाउँपालिकामा सुन्तलाखेती विस्तार भएको उनको भनाइ छ।
चार वर्षपछि पालिकामा वार्षिक १० करोड रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुने पालिका अध्यक्ष राईले विश्वास व्यक्त गरे। सुन्तला, कागती र डल्ले खुर्सानी किसानलाई प्रोत्साहन गर्दै प्रमुख आर्थिक स्रोतका रूपमा विस्तार गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ। रासस